स्वास्थ्य

भदौ तेस्रो साता विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक नेपालमा

काठमाडौं । विश्व स्वास्थ्य संगठन क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक आगामी २१ देखि २५ भदौसम्म काठमाडौंमा हुने भएको छ । बैठकमा विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रका मन्त्रीहरूले विद्यमान कोरोना महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न अत्यावश्यक स्वास्थ्य सेवाहरूको ‘अझ राम्रो पुनर्निर्माण’का उपायबारे छलफल गर्ने भएका छन् ।

बैठकमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा। पुनम क्षेत्रपाल सिंह, क्षेत्रका सदस्य देशका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकाय, साझेदार, दातृनिकाय तथा नागरिक समाजका प्रतिनिधि सहभागी रहनेछन् ।

दोस्रोपटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको वार्षिक बैैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयमा छलफल हुनेछ । यस्तै, स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्ययोजनाबारे बैठकमा छलफल हुनेछ ।

सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने, दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूका लागि हुने सेवा प्रवाहलाई थप गति दिने बताइएको छ ।

विश्व स्वास्थ्य संगठन दक्षिण-पूर्वी एसिया क्षेत्रले सन् २०१४ मा पोलियो र २०१६ मा मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोग उन्मूलन गरेका छन् । भुटान, दक्षिण कोरिया रटिमोर–लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।

नेपाल र म्यानमारले ट्राकोमा उन्मूलन गरेका छन् । भारत यास रोगमुक्त भएको छ । थाइल्यान्ड, श्रीलंका र माल्दिभ्सले आमाबाट बच्चामा सर्ने एचआइभी र भिरिंगी (सिफिलिस) को उन्मूलन गरेका छन् । बंगलादेश, भुटान, नेपाल र थाइल्यान्डले हेपाटाइटिस बीलाई नियन्त्रण गरेका छन् ।-न्युज कारखाना