विविध

जनकपुरधामका सडकको बेहाल, करोडौं खर्च गर्दा पनि खाल्डाखुल्डी

जनकपुरधाम । जनकपुरधाममा करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक अहिले ठाउँठाउँमा भत्किन थालेको छ । सडक भत्किने थाले पनि दुर्घटनाको जोखिम निम्त्याएको छ भने अर्कोतर्फ निर्माणको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ ।

जनकपुरको मुहान नै फेर्नेगरी एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा जनकपुरको सहरी सडक निर्माण सम्पन्न भएको केही दिनमै भत्किन थालेको हो । विभिन्न चोकहरुमा सडकहरु बीचमा भ्वांग परेको छ । गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरीत काम गरेर सक्काएको जनस्तरबाट आवाज उठे पनि त्यसलाई बेवास्ता गर्दै सडक निर्माण गरिएको थियो । अहिले सडकको विभिन्न ठाउँमा भत्किन थालेको हो ।

जनकपुर बजार क्षेत्रमा भूमिगत नाला र सडक निर्माण तथा एकीकृत फोहोर व्यवस्थापनका लागि सडक बनाउन एडिबी र तत्कालीन जनकपुर नगरपालिकाबीच सात वर्षअघि सम्झौता भएको थियो । एक अर्ब पाँच करोड ९८ लाख रुपैयाँमा ३२ किलोमिटर भूमिगत नाला र १२.३९ किमि सडक पिच गर्ने सम्झौता भएको थियो । चीनको जेडआइइसी र काठमाडौंस्थित शर्मा निर्माण कम्पनीले संयुक्त रुपमा ठेक्का पाएको काम जनकपुरकै रमण कन्स्ट्रक्सन कम्पनीले पेटी ठेक्कामा लिएको हो । स्थानीयहरुले सडक निर्माणमा अनियमितता भएको कारणले समस्या आएको आरोप लगाएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवले सहरी भवन कार्यालयसमेत केही सडकहरु निर्माण गरेको र त्यसमा केही समस्या आएको बताए । तर जनकपुरधाम उपमहानगरपालिकाले बनाएको सकडकमा खासै समस्या नभएको र निर्माणपछि केही ठाउँमा देखिएको समस्याहरु आउनु स्वाभाविक रहेको बताए । उनले यस्ता सडकलाई तत्काल मर्मत गरिने पनि स्पष्ट पारे ।-वीरेन्द्र रमण\न्युज कारखाना