विविध

प्रदेश सुरक्षा समितिको बैठक : चाडपर्वमा हुनसक्ने अपराध न्यूनिकरणमा लाग्न निर्देशन

हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजय क्रान्ति शाक्यको संयोजकत्वमा प्रदेश सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । प्रदेश सुरक्षा समितिका संयोजकसमेत रहेका मन्त्री शाक्यको संयोजकत्वमा बसेको बैठकमा बागमती प्रदेशको सुरक्षाको अवस्था, समस्या तथा चुनौतीका विषयमा प्रस्तुतिकरण भएको थियो ।

बैठकमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्राकृतिक विपद्, सडक सुरक्षा, विभिन्‍न घटनाको प्रतिक्रिया स्वरुप हुनसक्ने विरोध प्रदर्शन र यसले थप्‍ने सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्री शाक्यले जानकारी दिए । नजिकिँदै गरेको चाडपर्व (दशैंतिहार) लाई मध्यनजर गरी हुनसक्ने अपराधका घटना न्यूनीकरण गर्न मन्त्री शाक्यले उपस्थित सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए ।

बैठकमा २८ नम्बर बाहिनी सुपारेटारका सहायक रथी जोनसन खड्का, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक प्रशासजंग कार्की, सशस्त्र प्रहरी बल नेपाल ३ नम्बरगढीमाई बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दीप श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रदेश कार्यालयका अनुसन्धान निर्देशक हरिहर पौडेल र जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौतीको विषयमा प्रस्तुतिकरण गरेका थिए ।-।- न्युज कारखाना