काठमाडौं । नन्दी स्कूलमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनभरण प्रणाली निर्माण थालिएको छ । शुक्रबार (असोज ८) काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले निर्माण कार्यको शिलान्यास गर्नुभएको हो ।
शिलान्यासपछि बोल्दै उहाँले आकाशे पानी संकलन र पानी पुनभरण प्रणालीबाट भूमिगत पानीको सतह बढने अपेक्षा गर्नुभयो । ‘प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी नभइ हुँदैन । पानीको स्रोत जोगाउन सकिएन भने पानीको संकट थपिन थाल्छ । यसले व्यवस्थापनमा संकट ल्याउँछ । पानीकेो यो सम्भावित जोखिमबाट बच्न हामीले आकाशे पानी संकलन र जमिन पुनभरण प्रणाली निर्माण गर्ने कामलाई एउटै योजना बनाएर अगाडि बढाएका र्छौँ ।’ प्रमुख शाक्यले भन्नुभयो, ‘खाना नभए केही समय जीवन चल्न सक्छ । तर, पानी भएन भने चल्दैन । यो तथ्यलाई मनन गर्दै गरेर महानगरले आकाशे पानी संकलन र पुनभरण योजना अगाडि बढाएको हो । यसमा सहरका हरेक घरको योगदान रहन सक्छ । सामुहिक लाभका लागि साझा सोच बनाएर अगाडि बढौँ ।’
अहिले डिप बोरिङ् गरेर पानी निकाल्ने काम मात्र भएको छ । यसले जमिनमुनि पानीको सतह घट््यो । अब त्यो सतह बढाउने काम गर्नुपर्छ । कार्यक्रममा वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले, नन्दी स्कूलको जमिनबाट पानी भित्र पठाएपछि यस आसपासमा भएका ढुङ्गेधारामा पानीको वहाब बढ्ने अपेक्षा गर्नुभयो ।
त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले वडा ५ कार्यालय परिसरमा पनि यस्तै प्रकारको प्रणाली जडान गर्ने योजना रहेको उल्लेख गर्नुभयो । व्यक्तिगत रुपमा आफूले पनि प्रणाली जडान गरेको उल्लेख गर्दै श्रेष्ठले आकाशबाट आएको पानी प्रयोग गर्न मिल्ने खालको हुने बताउनुभयो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी अमात्यले, यो प्रणालीले विद्यालयको गरिमा बढाउने उल्लेख गर्नुभयो ।
महानगरकी वातावरण इञ्जिनियर निशा कोइरालाकाअनुसार विद्यालयको २९७ स्क्वायर मिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोलि ट््याङ्क फ्लस डाइभर्टरमा पठाइन्छ । जलाधार क्षेत्रमा भएको धुलो, कसिङ्गर वा अन्य फोहोरसहितको फोहोर पानी यसमा भरिन्छ । त्यसपछिको सफा पानी यही ट््याङ्क हुँदै १ हजार लिटरको फिल्टर युनिटमा पुग्छ । रोडा र बालुवामा त्यहाँबाट छानिएको पानी भूमिगत ट््याङ्कीमा खस्छ । पानी जम्मा गर्न ६ मिटर लम्बाइ, ४ मिटर चौडाइ र १ दशमलव ८ मिटर उचाइ भएको ४१ ह्जार ७६० लिटर क्षमताको ट््याङ्की बनाइनेछ ।
इञ्जिनियर कोइराला पानी पुनभरण प्रणालीका विषयमा जानकारी थप्दै भन्नुहुन्छ, ‘ट््याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङ्मार्फत जमिनमुनि पठाइन्छ । यो रिङ्मा साना ठूला रोडा र वालुवाको तह बनाइएको हुन्छ ।’ यो प्रणाली करीब ११ लाख २० हजार रुपैयाँमा निर्माण हुन लागेको हो । सुप्रिम निर्माण सेवाले यो काम गर्दैछ । यस अघि ०७६ फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमूना पानी पुनभरण प्रणाली शुभारम्भ गरिएको थियो ।
त्यस क्षेत्रको जलाधार क्षेत्रमा (क्याचमेन्ट) मा जम्मा भएको पानी जम्मा गर्न ३ वटा क्याचफिट बनाइएका छन् । त्यहाँबाट पानी पुनभरण इनार (रिचार्ज वेल) मा जान्छ । डवलीको खाली ठाउँमा २ वटा पुनभरण इनार बनाइएका छन् । दुईमध्येको एउटा २४ फिट गहिरो र ४२ इन्च गोलाइको छ भने अर्को १४ फिट गहिरो र ४२ इन्च गोलाइको छ । २४ फिट गहिरो इनारको तल्लो ५ फिटमा खोलाबाट ल्याइएको १०० एमएमसम्मका गिटी राखिएको छ । त्यसभन्दा माथि ३ फिटमा त्योभन्दा मसिना गिटी, त्यसको माथिल्लो ३ फिटमा खस्रो बालुवा र त्यसभन्दा माथि जिओ टेक्स्टाइल राखिएको छ । जमिनमा जम्मा भएको पानी यही इनारबाट छानिँदै जमिनमुनि जान्छ । डबलीसँगै रहेको नर्सरीमा पनि यस्तै प्रणाली जडान गरिएको छ । यहाँ भने एउटा क्याचफिट र एउटा पुनभरण इनार निर्माण गरिएको छ । यी दुवै ठाउँमा प्रणाली जडान गर्न करीब ५ लाख रुपैयाँ लागत लागेको थियो । यस प्रणालीबाट १ बर्षमा करीब ७ लाख ६७ हजार लिटर पानी पुनभरण हुने अपेक्षा गरिएको छ ।
Add Comment