विविध

काठमाडौँले २७ औँ महानगर दिवस मनायो : स्थानीय सरकारहरुको नेतृत्व महानगरले गर्नु पर्नेमा वक्ताको जोड

काठमाडौँ । काठमाडौँ महानगरले २७ औँ वार्षिकोत्सव मनाएको छ । २७ गते सुरु गरिएका विविध कार्यक्रम समापन गर्दै आज बसन्तपुरमा मूल समारोह आयोजना गरिएको थियो । दिवसका अवसरमा विभिन्न ४० वटा वुथबाट सेवाग्राही सर्वेक्षण, ज्येष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप, मधुमेह, रक्तचाप र कोविड परीक्षणसहितको  वृहत स्वास्थ्य शिविर, विशेष सरसफाई, वाकथन, मैत्री फुटबल खेल, सांस्कृतिक कार्यक्रम, ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ विषयमा विद्यालय स्तरीय वक्तृत्वकला र निबन्ध लेखन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिएका थिए ।

१९९६ सालमा स्थापना गरिएको सफाइ अड्डा नै महानगरको संस्थागत जग हो । २००४ सालमा नगरपालिका नामाकरण गरिएपछि शासन व्यवस्था परिवर्तनसँगै नाम परिवर्तन हुँदै आयो । यही क्रममा २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो ।

आयोजना गरिएको मूल समारोहमा २२० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँको चेकसहित सम्मान गरिएको थियो । यसै गरी व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान गरिएको थियो । यसै गरी स्थानीय सेवा पदक, महानगर गौरव पदक वितरण, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

समारोहमा महानगरका विषयमा समाचार लेख्ने ९ जना पत्रकारलाई व्यक्तिगत रुपमा र एउटा संस्थालाई संस्थागत रुपमा सुशासन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । यस्तै रानी पोखरी पुननिर्माण सहजीकरणका लागि गठित स्थानीय उपभोक्ता समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोरेका काठमाडौँ उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गरेका थिए । त्यसै गरी महानगर प्रमुख शाक्यले प्रहरी बलले प्रयोग गर्ने वडी वन क्यामराको शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल संघीय शासन प्रणालीको प्रारम्भिक अभ्यासमा रहेकोले स्थानीय सरकारको नेतृत्व महानगरले गर्नुपर्नेमा जोड दिएका थिए । संस्थागत इतिहास, स्रोत र जनशक्ति भएकोले मात्र होइन । संघीय नेपालको केन्द्रीय राजधानी भएको नाताले पनि काठमाडौँ महानगरले स्थानीय राजनीति र प्रशासनको नेतृत्व गर्नुपर्छ । उनिहरुको भनाइ थियो ।

यसरी धारणा राख्नेहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले धारणा राख्दै काठमाडौँ महानगरका हरेक काम महसुस योग्य, मापन योग्य र अनुकरण योग्य हुनु पर्ने बताउँदै काठमाडौँले यसैअनुरुप गरिरहेको आफूलाई लागेको बताए । क्षमताले भ्याउने अरु पनि काम गर्न सकिन्छ । सहरको चरित्र र परम्परागत आचरणलाई व्यवस्थित गर्दै जनताका अपेक्षा पूरा गर्नु पर्ने उनको भनाइ थियो । ठूला सहरका वरिपरि साना साना अरु पनि सहर हुन्छन् । ती सहरहरुकोको केन्द्र ठूलो सहर हुन्छ ।

त्यस क्रममा बागमती प्रदेशका सभामुख श्रेष्ठले स्थानीय भाषा, कला, साहित्य र सिर्जनाका लागि महानगरले धेरै काम गरेको उल्लेख गरे । नेपाल भाषाको स्थानीय पाठ््यक्रम तयार पारेर पाठ्पुस्तक कार्यान्वयनमा ल्याउनुलाई ठूलो उपलब्धी मान्नु पर्ने सभामुख श्रेष्ठको भनाइ थियो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले संघीयतामा जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकार स्थानीय तह भएकोले यसलाई मजवुद बनाउन सबैको भूमिका हुनु पर्ने बताए । महानगरपालिकाले सम्पादन गरेका कामका विषयमा चर्चा गर्दै उनले गएको ४ बर्षको अवधिका धेरै परिवर्तन भएको आफूले महसुस गरेको बताए ।

महानगरले क्षमता भएका काम पनि गर्न पाएन । समारोहमा बोल्दै महानगरका प्रमुख शाक्यले, संघ र प्रदेश सरकारले महानगरका योजनामा सहयोग गर्नुपर्ने बताए । महानगरसँग सहरी पूर्वाधार निर्माण, सुविधा वितरण र सम्पदा संरक्षणका लागि पर्याप्त क्षमता छ तर आफूसँग भएको क्षमतालाई पूर्ण प्रयोग गर्न सक्ने अवस्था छैन । यसपछाडि वाझिएका कानुनी प्रबन्ध र विकास साझेदारविचको असमन्वय मुख्य कुरा भएको प्रमुख शाक्यको भनाइ थियो ।

त्यस क्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले काठमाडौँले फोहोर व्यवस्थापनको दिगो समाधानका लागि नेतृत्व गर्नु पर्ने सुझाव राखेका थिए । त्यसै गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले महानगरले विकास र व्यवस्थापनका नयाँ अभ्यास प्रयोग गर्दै जानु पर्ने र अन्य पालिकाहरुले महानगरबाट सिक्नुृ पर्ने भएकोले यसैअनुरुपको प्रणाली विकास गर्नुपर्ने बताए ।

महानगरपालिकाले धेरै सेवाग्राहीको कामलाई १ दिनभन्दा धेरै दिन लगाएको छैन । गएको बर्ष गरिएको सेगाग्राही सर्वेक्षणको नतिजाका विषयमा कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले विद्युतीय प्रणालीको विकास गरेर जनतालाई घरबाटै सेवा लिन सक्ने पद्धति विकासको क्रममा रहेको उल्लेख गरेका थिए ।