विविध

महानगरको वृहत स्वास्थ्य शिविरमा २ हजार २६९ जनालाई सेवा : जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप सुरु

काठमाडौँ । २७ औँ महानगर दिवसका अवसरमा काठमाडौँ महानगरले आयोजना गरेको वृहत स्वास्थ्य शिविरबाट २ हजार २६९ जनाले सेवा लिएका छन् । यसमध्ये १ हजार ४१० जनाले साधारण स्वास्थ्य परीक्षण गराएका छन् । शिविरबाट ४३ जना जेष्ठ नागरिकलाई निमोनियाँको खोप दिइयो । यस्तै ७८८ जनाको ल्याव परीक्षण गराइयो । यसमा व्लड सुगर, एल्बोमिन, हेमोग्लोविन, टीजी, कोलेस्ट्रोललगायतका परीक्षण गराइएको थियो । महानगर दिवसको मूल समारोहसँगै चलाइएको शिविरमा २८ जनाको कोविड परीक्षणका लागि पिसीआर गरिएको थियो ।

शिविरमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्यकर्मीलाई खोप प्रदान गर्दै निमोनियाँ खोप कार्यक्रम सुरु गरेका थिए । त्यसपछि उनले रगतबाट मधुमेहको परीक्षण गराएका थिए । शिविरमा महानगरको स्वास्थ्य कार्यक्रमका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाक्यले, सरल, सहज स्वास्थ्य सेवाका लागि महानगरले यस क्षेत्रमा लगानी बढाएको बताए । महानगरले सञ्चालन गर्ने सेवासँगै विशेषज्ञ स्वास्थ्य सेवाका लागि सरकारी र सामुदायिक अस्पतालको क्षमता विस्तारमा हाम्रो लगानी छ । यो लगानीबाट महानगरबासीलाई लाभ हुन्छ नै । उनिहरुसँगै देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौँ आउनु हुने विरामी र परिवारलाई पनि सहज हुनेछ ।

निमोनिया विरुद्धको खोप कार्यक्रम वडा स्तरबाट चल्नेछ । अहिले हामी खरिद प्रक्रियाबाट खोप प्राप्त गर्ने चरणमा छौँ । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्छन, ‘खोप प्राप्त गर्न करीव १ महिना अवधि चाहिएला । त्यसपछि हाम्रो कार्यक्रम चल्नेछ ।’