विविध

विहान २ बजेदेखि ८ बजेसम्म फोहोर ढुवानी, फोहोर व्यवस्थापनलाई सहज बनाउन महानगरको अपिल

काठमाडौ । हिजोआज विहान २ बजेदेखि ८ बजेसम्म फोहोर बोकेका गाडी ल्याण्डफिल साइटमा जाने गरेका छन् । पासाङ् ल्हामु राजमार्गअन्तर्गत मुड्खु तीनपिप्ले सडक निर्माण कार्यलाई सहज बनाउन यसबाहेकको समयमा गाडी पठाउने गरिएको छैन । स्थानीयबासीले यो सडक कालोपत्रे हुनु पर्ने माग राखेर चैत १८ गतेदेखि दोस्रो पटक अवरोध गरेका थिए । सडक निर्माण कम्पनीले कालोपत्रे कार्यलाई सुचारु गर्ने प्रतिवद्धता जनाएपछि चैत २७ गतेबाट कामलाई सहज बनाउन विहानको समयमा मात्र फोहोर ढुवानी गर्न थालिएको हो ।

यसरी फोहोरको आंशिक व्यवस्थापन गर्न थालिएको ३ दिनमा ३ सय ४० ट्रक फोहोर ल्याण्डफिल साइटमा लगिएको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईले जानकारी दिए । उनकाअनुसार आज विहान ८ बजेसम्ममा १ सय ७२ वटा ट्रक फोहोर बोकेर साइटमा पुगेका छन् ।
महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सडक निर्माणका लागि माग गर्दै स्थानीयबासीले फागुन र चैत महिनामा ३ पटक फोहोर लैजान अवरोध गरे । यसअवधिका ३३ दिन फोहोर संकलन हुन सकेन ।

यसविच फागुन २६ गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सहरी विकास मन्त्रीको संयोजकत्वमा उच्च स्तरीय समिति गठन ग¥यो । ल्याण्डफिल साइटमा देखिएका समस्या समाधानका लागि यस अघि गरिएका प्रतिवद्धताको कार्यान्वयन, साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न समिति गठन गरिएको हो । यही दिन काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ¥यापिड एक्सन टाक्सफोर्स गठन भयो । फोहोर व्यवस्थापनका लागि स्थलगत अवस्था मिलाउन तथा फोहोर व्यवस्थापन सम्बन्धी कानुनी र व्यवहारिक समस्यामा समाधानमा सहजीकरण गर्न यो फोर्स बनाइएको हो ।
उपत्यकाका सबै नगरबाट दैनिक उत्पादन हुने करिब १२ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । जसमध्ये करिव ५ सय ४५ मेट्रिक टन फोहोर काठमाडौँ महानगरको हो ।

सहरको फोहोर व्यवस्थापन गर्न नियमित कार्य सञ्चालन हुनुपर्छ । आंशिक काम गर्दा फोहोरको मात्रा उठाउन कठिन हुन्छ । निमित्त विभागीय प्रमुख राई भन्नुहुन्छ, ‘हामीले नियमित काम गर्न पायौँ भने ३ दिनभित्र सहरको सबै फोहोर उठाइसक्छौँ । हामी फोहोर संकलनमा लागिरहेका छौँ । पूर्ण क्षमतामा काम गर्न नपाएपछि समस्या देखिएको हो । यो समस्याको समाधान हामीबाट मात्र सम्भव छैन । अहिलेको समस्याको मुल कारण सडक हो । नेपाल सरकारले यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गरिदिनुपर्छ ।’