विविध

काठमाडौँ महानगरको मेयर पदका लागि आज १६ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मनोनयनको पहिलो दिन आज काठमाडौँ महानगरपालिकाका लागि १६ जनाले मेयर पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभा गृहमा स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा ४ जना महिला र १२ जना पुरुषले उम्मेदवारी दर्ता गराएको हो । निर्वाचन कार्यालयका शाखा अधिकृत प्रेमकुृमार श्रेष्ठकाअनुसार पार्टीको प्रतिनिधित्व गर्दै ७ जनाले र स्वतन्त्र रुपमा ९ जनाले मनोनयन दर्ता गराएको हो । यसरी मनोनयन दर्ता गराउने पार्टीहरुमा विवेकशील साझा पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल समावेशी पार्टी, मौलिक जरोकिलो पार्टी, सचेत नेपाल पार्टी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी रहेका छन् ।

यससँगै उपमेयर पदमा १७ जनाले मनोनयन दर्ता गराउनुभएको छ । यसैगरी वडाध्यक्षमा २३ जना र वडा सदस्यमा ७ जनाले मनोनयन पत्र दर्ता गराएको छ । निर्वाचन तालिकाअनुसार भोलि ५ बजेसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता हुनेछ । बैशाख १३ विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

बैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते अपरान्ह ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ । १६ गते विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ । बैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।