विविध

११६ जना जनप्रतिनिधिको राजीनामा, मनोनयन पत्र बुझाउने म्याद भोलिसम्म थप आउन सक्छ — सहायक प्रवक्ता काफ्ले

काठमाडौ । काठमाडौँ महानगरपालिकामा ११६ जना जनप्रतिनिधिले राजीनामा दिनुभएको छ । आज साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिनुभएको हो । त्यसै गरी ८७ जना वडा सदस्यहरुले राजीनामा बुझाउनुभएको छ । स्थानीय तह निर्वाचन सदस्य २०७९ मा भाग लिन उम्मेदवारी दर्ता गर्दा सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनु पर्ने भएपछि जनप्रतिनिधिहरुले राजीनामा दिएको हो ।

महानगरको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी छ । महानगरका सहायक प्रवक्ता महेश काफ्ले भन्छन, ‘उम्मेद्वारी सम्बन्धी पार्टीबाट निर्णय आइ नसकेको भएर राजीनामा नआएको हुन सक्छ । अर्कोतिर निर्वाचनमा भाग नलिने भए राजीनामा दिनै परेन ।’

काठमाडौँ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित १६० जना जनप्रतिनिधि छन् । यो संख्या १६५ हुनुपर्ने हो । प्रमुख उपप्रमुख, २ जना, वडा सदस्य (अध्यक्षसहित) १६० जना र कार्यपालिका सदस्यका लागि पार्टीकातर्फबाट जनजाति, दलित र अल्पसंख्यकबाट उम्मेदवार बनाइएका ३ जना यसको पूरा संख्या हो । कार्यपालिकाका ८ जना सदस्यमध्ये बाँकी ५ जनालाई वडा सदस्यहरुमध्येबाट महिला सदस्य पदका लागि उम्मेद्वार बनाइएको थियो ।

२०७४ को स्थानीय निर्वाचनमा वडा २४, २५ र २७ मा दलित महिलाको उम्मेद्वारी नपरेका कारण जनप्रतिनिधिको संख्या १६५ बाट १६२ हुनपुथ्यो । यस कार्यकालमा वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठ र वडा ३० का सदस्य निरजराज सत्यालको निधन भएपछि अहिले महानगरमा जनप्रतिनिधिको संख्या प्रमुख उपप्रमुखसहित १६० जना रहेको छ ।