विविध

काठमाडौँको जैविक फोहोरलाई मल बनाएर मलको हाहाकार कम गराउन सकिन्छ — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छ । असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख साहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेको छ ।

प्रमुख साहले भनेको छ, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपु¥यायो, उसैलाई बिर्सने भन्ने हुँदैन ।’ शुभकामनामा प्रमुख साहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताए ।

यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस । गुणस्तरीय मल, बीउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन । शुभकामनामा उल्लेख छ । २०६१ साल मङ्सिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।