विविध

महानगरको फोहोर छुट्याउने योजनामा सहयोग गर्छौँ — निजी र गैरसरकारी संघसंस्थाका प्रतिनिधि

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले ल्याण्डफिल साइट पुग्ने सडक निर्माणका लागि सडक विभागसँग समन्वय भइरहेको बताएको छ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिसँगको भेटमा उनँले यस्तो बताएको हो । भेटका क्रममा प्रतिनिधिहरुले बर्खामा हुने सडक समस्याको कुरा उठाएपछि प्रमुख साहले निर्माण हुन बाँकी रहेको सडक खण्ड चाँडै बनाइसक्न आफूले समन्वय गरिरहेको बताए ।
काठमाडौँका सडकमा भएको सबै फोहोर उठाउन तपाईँहरुलाई कति समय लाग्छ? छलफलका क्रममा प्रमुख साहले प्रश्न गरे । उत्तरमा प्रतिनिधिहरुले पूर्ण क्षमतामा ढुवानी गर्न पाए ३ दिनभित्र फोहोर उठाइसक्ने बताए ।

भेटमा फोहोरमैला व्यवस्थापन संघ, नेपाल (स्वमान) का महासचिव मीत्र घिमिरे र वातावरण संरक्षण गैसस महासंघका अध्यक्ष टीकाराम दाहालले फोहोर बर्गीकरण गर्ने महानगरको योजनालाई प्रशंसा गरे । महानगरको नीति र कार्यक्रमअनुसार हामीले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न प्रतिवद्ध छौँ । उनिहरुको भनाइ थियो ।
छलफलका क्रममा फोहोर ढुवानी गर्ने सवारी साधनबाट लिचेड चुहिने समस्या समाधान गर्ने विषय पनि उठेको थियो । हामी प्रतिवद्ध भएर सुधारका काम गछौँ तर केही थप समय लाग्न सक्छ । प्रतिनिधिहरुको भनाइ थियो । भेटका क्रममा फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनमा काम गर्ने निजी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।