मुख्य समाचार

नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने: (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् । जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको बताए ।

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले दुई विकल्प अघि सारेका छन् । पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने । दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।

जसपा विभाजनको संघारमा पुगेको सन्दर्भमा आयोजित कार्यक्रमा आफ्नै पक्षका नेताहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सरकारले जनमुखी शासन प्रशासन र आर्थिक नीति निरुपणका लागि दृष्टिकोणले सफल हुन नसकेको बताउदै पाँच दलीय गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रमको कार्यान्वयन नगरेको बताएका छन् ।

‘ओलीको प्रतिगमनकारी कदमलाई परास्त गरी संविधान र संविधानवादको रक्षा गर्ने दृष्टिकोण सही र सकारात्मक हो । कुनै पनि देशको राज्यसत्ता सरकारविहीन हुन सक्दैनथ्यो र यो भन्दा बाहेक अरु कुनै संवैधानिक तथा राजनीतिक उपाय बाँकी थिएनन्,’ भट्टराईले भनेका छन्, ‘कोभिड–१९ को महामारी नियन्त्रण, भर्खरै स्थानीय निर्वाचन सम्पन्न गर्नुलाई सरकारको सकारात्मक उपलब्धी मान्न सकिन्छ । तर, जनमुखी शासनप्रशासन र आर्थिक नीति निरुपणका दृष्टिकोणले भने सरकार खासै सफल देखिन्न ।’ उनले सरकारले गठबन्धन भन्दा तय गरिएका न्युनतम साझा कार्यक्रमको मर्म र भावनालाई सरकारलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

‘यो सरकारको कार्यकालमा देशको अर्थतन्त्र र आर्थिक प्रशासनका गम्भीर समस्या देखा परे । देशमा करिब एक वर्ष लामो तरलता अभाव हुन पुग्यो, जो अझै राम्ररी हल हुन सकेको छैन । वैदेशिक मुद्राको संचिती कमजोर जोखिमपूर्ण अवस्थामा छ । भ्रष्टाचार, मूल्यवृद्धि र मंहगी आकासिएको छ,’ उनले भनेका छन्, ‘अर्थमन्त्रीमाथि वित्तीय अपराध हुने गम्भीर आरोप लागेपछि राजीनामा गर्न बाध्य भएका छन् । राष्ट्र बैंकको स्वायत्तता र विश्वासनीयता संकटमा पर्ने गरी गभर्नरको बर्खास्ती र पुनर्वाहली भएको छ ।’ अध्यक्ष भट्टराईले मुलुकमा युवा बेरोजगारी, श्रम पलायन, बैदेशिक परनिर्भरता बढ्दै गर्दा गठबन्धन सरकारमाथि जनअसन्तुष्टि र गुनासा बढ्नु स्वभाविक भएको बताएका छन् ।