विविध

यस बर्षको इन्द्रजात्रामा भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गरिने

काठमाडौँ । यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ । साउन १ गतेको छैटौँ कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति हुनेछ । त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन ।

महानगरका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ । समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन् । बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालसहित विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

यस बर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ । यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र) बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ । प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ । यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनेछन् ।

२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो । तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयर÷उपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए । त्यसपछिका बर्षहरुमा कोविड १९ संक्रमणका कारण अन्तरराष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन ।

महानगरको भगिनी सम्बन्ध
महानगरले देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ । डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन् ।

अन्तरराष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन् । धेरै सहरसँग भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो । चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो । यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ । थाइल्याण्डको बैंककसँग सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा छ ।