अन्तराष्ट्रिय

काबुलमा ठूलो बम विस्फोट, २० जनाको मृत्यु, ४० भन्दा बढी घाइते 

काबु, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा ठूलो बम विस्फोट भएको छ । विस्फोटमा परी करिब २० जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताइएको छ । विस्फोटमा काबुलको आपत्कालीन अस्पतालले ट्वीट गर्दै विस्फोटमा घाइते भएका कुल २७ जनालाई भर्ना गरिएको र तीमध्ये ३ जनाको मृत्यु भएको बताएको छ । जानकारीका अनुसार खैर–खाना क्षेत्रमा रहेको मस्जिदमा बुधबार साँझको नमाजको क्रममा विस्फोट भएको हो । यस विस्फोटमा मस्जिदका इमामको मृत्यु भएको छ ।

विष्फोटका बारेमा प्रहरीले अहिले नै मृत्यु हुने र घाइतेको संख्याबारे केही भन्न उपयुक्त नहुने बताएको छ । यसै क्रममा तालिबानका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई विस्फोटमा करिब ३५ देखि ४० जना घाइते भएको बताए । थप रूपमा, अल जजीराले एक अज्ञात अधिकारीलाई उद्धृत गर्दै विस्फोटमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको र जसको संख्या बढ्न सक्ने बताएको छ। विस्फोटको तीव्रताका बारेमा एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएअनुसार विस्फोट यति शक्तिशाली थियो कि मस्जिद वरपरका घरका झ्यालका सिसाहरू चकनाचुर भएका थिए र विस्फोटको आवाज उत्तरी काबुलमा टाढासम्म सुनिएको थियो। सोही क्रममा अर्का प्रत्यक्षदर्शीले आत्मघाती बम आक्रमणकारीद्वारा विस्फोट गराइएको बताएका छन् ।

विष्फोटपछि तालिबानी सुरक्षाकर्मीले सम्पूर्ण क्षेत्रलाई घेरेका छन् र घाइतेहरूलाई विभिन्न अस्पतालमा सारिएको छ। हालसम्म कुनै पनि आतंकवादी संगठनले विस्फोटको जिम्मेवारी लिएको छैन। तर तालिबान सत्तामा आएदेखि कट्टरपन्थी आतंकवादी संगठन आईएसआईएसले लगातार शिया मस्जिदलाई लक्षित गरी बम विष्फोट र आतङ्ककारी घटनाहरू गराउँदै आएको छ । तर, यसपटक बम विष्फोट भएको क्षेत्र न त शिया बाहुल्य छ न त्यो मस्जिद शियाको छ ।हेरात प्रान्तमा इरानको सीमा पार गर्न खोजिरहेका मेहदी मुजाहिदलाई कब्जामा लिएर हत्या गरेको तालिवानले बुधबार बताएको छ । मुजाहिद तालिबानमा एकमात्र अल्पसंख्यक हजारा समुदायका कमाण्डर थिए।