मुख्य समाचार

नागरिकता बिधेयक पारित, पक्षमा १३५, बिपक्षमा ६० मत 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट जस्ताको तस्तै पारित भएको छ । आज भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ । त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

मतदानका बेला १९५ जना सांसद बैठकमा उपस्थित भएका थिए । बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । छलफलमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका सांसदहरुले नागरिकता विधेयक पारित नहुँदा जन्मको आधारमा नेपाली नागरिकता पाएका नेपाली नागरिकको सन्तानले नागरिकता पाउन नसकेकाले यो विधेयक तत्काल पारित गर्नुपर्ने मत राखेका थिए । सत्तारुढ दलकै कतिपय सांसदले बिद्येयक सच्याउनु पर्ने धारणा पनि राखेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले भने राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएकाले यो विधेयक संसदीय समितिमा लगेर वृहत छलफल गर्नुपर्ने माग गरेका थिए । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार मतदानका आधारमा नागरिकता विधेयक पारित गरिएको हो ।