विविध

उपप्रमुख डंगोल र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच समावेशी सहर व्यवस्थापनका सिकाइका आपसी विषयमा छलपल

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकिछन् । राष्ट्रिय सभा गृहमा भएको भेटका बेला समावेशी सहर व्यवस्थापन सिकाइ अभ्यासका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा राजदूत भोल्कले उपप्रमुख डंगोललाई २ हप्ते क्षमता विकास तालिमका लागि निमन्त्रणा गरेकिछन् ।

भेटका क्रममा उपप्रमुख डंगोलले, काठमाडौँ महानगरपालिकाले अन्तरराष्ट्रिय १८ वटा नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेर सहरी व्यवस्थापन र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन । सम्बन्ध स्थापना भएका नगरका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि निमन्त्रणा गरिएको जानकारी दिँदै उनले अष्ट्रेलियाको नगरहरुको व्यवस्थापनका अभ्यास र काठमाडौँको सांस्कृतिक गरिमा आपसी आदान प्रदानका विषय बन्न सक्ने बताइन ।

विकास र सम्पदा संरक्षणसँगै महिला, दलित, आदिबासी, अल्पसंख्यक तथा जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका कामलाई आफूले प्राथमिकतामा राखेको बताउँदै उपप्रमुख डंगोलले, योजना र प्रक्रियाबाट लक्ष्यमा पुग्ने प्रयास गरिरहेको बताइन । भेटका क्रममा राजदूत भोल्कले काठमाडौँ महानगरले समावेशी चरित्रको सहर निर्माणका लागि लिएको नीति, अघि सारेका कार्यक्रम, महिला ससक्तिकरण र नीतिगत तहमा महिलाहरुको नेतृत्वलगायतका विषयमा जिज्ञासा राखेकि थिइन । त्यस्तै भगिनी सम्बन्ध भएका सहरहरुसँग गरिने क्रियाकलापका विषयमा पनि राजदूतको जिज्ञासा थियो ।

हामीले पेशागत अवसरका रुपमा नेपालका पालिका र प्रदेश तहबाट अधिकारीहरुको तालिमका लागि वित्तिय व्यवस्थापन, सार्वजनिक सेवा, शिक्षालगायत विषय प्रस्ताव गरेका छौँ । अष्ट्रेलियामा आउँदो बर्ष निर्वाचन हुने भएकोले त्यसलाई असर नहुने गरी कार्यक्रम आयोजना गर्दैछौँ । त्यसमा तपाईँ पनि आउनुहुनेछ भन्ने अपेक्षा गरेको छु । राजदूतको भनाइ थियो ।