मुख्य समाचार

प्रम निवासमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्रीबीच ४ मंसिरमा हुने निर्वाचन सम्बन्धी छलपल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री शेरबहदुर देउवासँग भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनावको वातावरणलाई लिएर शंका नगर्न आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएकाछन् ।

एमाले अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए । भेटमा एमाले अध्यक्ष ओलीले सरकारले संसद्मा अघि बढाएको नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत धारणा राखेका थिए । साथै बजारमा बढ्दो महँगी नियन्त्रणमा समेत सरकारले भूमिका खेल्न नसकेको भन्दै ध्यानाकर्षण समेत गराएका थिए ।

देउवा–ओलीबीच लगभग दुई घण्टाको छलफलमा अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक दायरा अनुसार काम गर्दा सत्ता गठबन्धनले राष्ट्रपतिलाई चुनौती दिएर गैरजिम्मेवार चरित्र देखाएको पनि बताए । ‘राष्ट्रपतिले संवैधानिक दायराभित्रै रहेर नागरिकता विधेयकलाई पुनर्विचार गरिनुपर्छ भनेकि हुन् । तपाईंहरूबाट गठबन्धनको बैठक नै राखेर कमा, फुलस्टप पनि परिवर्तन नगर्ने निर्णय कार्य भयो यो जिम्मेवारपूर्ण काम भएन,’ ओलीको भनाइ थियो ।