विचार/अन्तर्वार्ता

युवा र महिलाको आर्थिक संमृद्धि मेरो एजेण्डा हो -भण्डारी

तारा भण्डारी नेपाल समाजवादीको केन्द्रिय सदस्य हुनुहुन्छ । समाजसेवा र महिला अधिकारका निम्ती निरन्तर सक्रिय भण्डारी एक कृयाशिल युवा महिला पनि हुनुहुन्छ । आफ्नो क्षेत्रमा अन्याय अत्याचारमा परेका महिलाहरुको अधिकारका निम्ती लड्दै आउनु भएकी भण्डारीले दुव्र्यशनमा फसेका युवाहरुको उद्धार समेत गर्दै आउनु भएको छ । आफ्ना एजेण्डालाई नीति निर्माण गर्ने तहमा पुगेर शसक्त रुपले उठाउनको निम्ती चुनाव लडेर संसदमा प्रतिनिधित्व गर्न चाहेको बताउने भण्डारीसँग उहाँका एजेण्डा उहाँको पार्टीले उठाउँदै आएका एजेण्डा र आगामी संसद र प्रदेशसभाको चुनावी तयारीको सेरोफेरोमा रहेर गरेको कुराकानी:

० तपाई नेपाल समाजवादी पार्टीको केन्द्रिय समिति सदस्य हुनुहुन्छ, अहिले पार्टी गतिविधि कसरी अगाडी बढीरहेका छन् ?
पुर्व पार्टी जसबाट अलग भएपछि केही समय त हामी नयाँ पार्टी गठनको कानुनी प्रकृयामै व्यस्त भयो । असार २८ र २९ गते काठमाडौको जडीबुटीमा भएको जसपाको विस्तारित बैठकले पार्टी पुनर गठन गर्ने निर्णय गरेपछि साउन २१ गते हामीले नेपाल समाजवादी पार्टी गठन गर्ने निर्णय ग¥यौं । साउन २१ गतेनै पार्टीको केन्द्रीय समितिको बैठक पनि बस्यो, उक्त बैठकले केन्द्रिय अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्र यादवलाई चयन गर्दै अन्य केही नेताहरुलाई विभिन्न पदको जिम्मेवारी दियो । त्यसपछि एजेण्डा मिल्ने सँग चुनावी तालमेल वा पार्टी एकता गर्ने निर्णय ग¥यौं । अध्यक्ष बाबुराम भट्टराई सोही निर्णय कार्यान्वयन गर्न सक्रिय हुनु भयो । अन्य साथीहरुले निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रदेश कमिटी पुनरगठन गर्ने जनबर्गीय संगठन र सुभेच्छुक संगठनको पुनर गठन गर्ने चुनावको तयारी गर्ने जस्ता कार्यमा हामी व्यस्त छौं ।

० चुनावी तयारी गर्ने भन्नु भयो, तपाईहरु आफ्नो पार्टीको चुनाव चिन्ह नलिई माओवादी केन्द्रको चुनाव चिन्ह गोलकार भित्रको हसिँया हटौडा लिएर लड्ने हुनु भयो नि किन ?
हाम्रो पार्टीको निर्णय सरकारमा रहेका दलहरु बिच गठबन्धन गरेर संसदीय र प्रदेश चुनावमा जाने भन्ने हो । त्यसैले चुनावी तालमेल नेकपा माओवादी केन्द्र मात्र होईन, नेपाली काँग्रेस एकिकृत समाजवादी सहित पुर्व पाँचदल र हामीहरु सहित भएर हुन्छ । जहाँसम्म माओवादीको चुनाव चिन्ह लिने कुरा छ, हाम्रो जोड समाजवादी केन्द्र बनाएर चुनावमा जाँउ सबैको साझा चुनाव चिन्ह साझा घोषणापत्र जारी गरौं भन्ने हो । अहिले सबै पक्ष बिच समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिन्ह लिन सम्भव नभएपछि जतिको बिचमा कुरा मिल्छ त्यतिबाट सुरु गरौं भनि अहिले नेकपा माओवादी, हाम्रो पार्टी नेपाल समाजवादी र वामदेव गौतम नेतृत्वको पार्टी बिच एउटै चुनाव चिन्ह लिएर चुनावमा जाने सहमति भएको हो ।

० चुनावी तालमेल मात्र होकी पार्टी एकतानै हुन्छ ?
अहिले त चुनावी तालमेल मात्र हो । तर मंसिर पछि नेकपा एकिकृत समाजवादी समेतलाई समेटेर समाजवादी केन्द्र बनाउनु पर्दछ भन्ने हाम्रो मान्यता हो । एकिकृत समाजवादी पनि यसमा सकारात्मक भएकोले यो सम्भव होला भन्ने लाग्दछ ।

० पार्टी एउटा चुनाव चिन्ह अर्कोको हुँदा समस्या पर्ला नि ?
राम्रो त आफ्नै पार्टीको चुनाव चिन्ह लिँदा हुने थियो तर यो विशिष्ट अवस्था भएकोले हामीले माओवादीको चुनाव चिन्ह प्रयोग गर्न लागेका हौं । यस्तो अभ्यास हामीले विगतमा नयाँशक्ति हुँदा पनि गरेका थियौ. । त्यसबेला पनि हामीले मसाल चुनाव चिन्ह लिएर चुनावमा सहभागि भएका थियौं ।

० चुनावको मुखमै आएर पुर्वपार्टी छाडी नयाँ पार्टी बनाउनु भयो किन यसो गर्नु प¥यो ?
हामीले समावेशी, समानुपातिक, शुसासन,संमृद्धि सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता एजेण्डा अगाल्दै बैकल्पिक राजनीति पार्टी बनाउन खोजेका थियौं । नेपालका तीनवटा कलस्टर खस आर्य, मधेस र जनजातिको उचित प्रतिनिधित्व भएको राष्ट्रिय चरित्रको पार्टी बनाउन खोजेका थियौं । जसपा र यसको नेतृत्व गर्नु भएका नेता उपेन्द्र यादव यसो गर्ने तयार हुनु भएन । उहाँ अलि साघँुरो सोचाई साथ हिडेको आभास भयो त्यसैले उहाँको नेतृत्वमा बैकल्पिक शक्ति बन्ने सम्भावना नदेखेपछि नयाँ पार्टी बनाएका हौं । पछिल्लो समयत बिरगञ्ज बैठकबाट उपेन्द्र यादबले डा. बाबुराम भट्टराई लगायतलाई पार्टीबाट हटाउनु भयो जस्ले गर्दा नयाँ पार्टी बनाउनु हामी बाध्य नै भयो ।

० तपाईहरु बैकल्पिक शक्ति बनाउन हिडेको तर पुरानै तपाईकै अध्यक्ष बाबुराम भट्टराईले भन्ने गरेको रातो स्टीकर टाँसेको घरमा फर्कनु भयो नि ?
हामीले चाहेको रुपान्तरण हो । पहिला माओवादी नेतृत्व पार्टी रुपान्तरण बारे छलफलनै गर्न तयार नभएपछि बाबुराम बाहिरीनु भएको थियो । अहिले रुपान्तरणको निम्ती उहाँहरु पनि तयार हुनुहुन्छ । त्यसैले हामी सकारात्मक भएका हौं । यसका सबैपक्ष त यहाँहरुले बिस्तारै बुझ्दै जानु हुने छ । हाम्रो एजेण्डा रुपान्तरण सहित समाजवादी केन्द्र बनाउने हो । हामीले त्यो मूल एजेण्डा छाडेका छैनौ । आफ्नो लक्ष्य प्राप्तीका निम्ती विभिन्न कार्यनीति र रणीनीति तरीका अपनाउनु पर्ने हुन्छ यो पनि त्यस्तै हौं ।

० तपाईहरु अरु भन्दा भिन्न भन्नु हुन्छ कसरी भिन्न हुनु हुन्छ ?
बैकल्पिक भनेको संगठनमा बैकल्पिक, विचार, कार्यक्रम र एजेण्डामा वैकल्पिक हो । हामी त्यसमै छौं । हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पुर्ण समानुपातिक संसद भनेका छौं, यो अरु भन्दा फरक छ । समावेशीता र संमृद्धिको मोडेल पनि अरु भन्दा फरक छ । तै पनि हामी संगठन एजेण्डा र कार्यक्रममा अरुभन्दा प्रष्ट फरक देखिने गरी लैजाने प्रकृयामा छौं । त्यसको निम्ती आन्तरिक गृहकार्य भईरहेका छन् ।

० मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव हुँदै छ तपाई उम्मेदवार बन्नु हुन्छ कि बन्नु हुन्न ?
मेरो व्यक्तिगत इच्छा त चुनावमा उम्मेदवार बन्ने छ । तर अहिले गठबन्धन छ, पार्टी छ । गठबन्धन र पार्टीको निर्णय भन्दा बाहिर जाने त कुरा भएन तर नेतृत्वलाई म आफू चुनाव लड्न इच्छुक भएको जानकारी गराए कि छु ।

० नेतृत्वले के भन्नुभयो टिकट पाउने समभावना छ ?
अहिले त गठबन्धन बिचमै कुराकानी टुङिगएको छैन । गठबन्धनमा छलफल हुँदैछ । जे निर्णय हुन्छ त्यो मान्ने कुरा हुन्छ । मैले आफू उठ्न चाहेको नेतृत्वलाई जानकारी गराए बाँकी त पार्टीले जे निर्णय गर्दछ त्यो मान्ने हो । हाम्रो आफ्नो पार्टीको मात्र पनि कुरा छैन किनकी हामी गठबन्धनमा छौ. ।

० तपाईको क्षेत्रमा जित्ने आधार के छ ?
यो भन्दा अघि हालै सम्पन्न स्थानिय तह निर्वाचनमा मेरो आफ्नो पालिकामा हामीले उपमेयर जितेका थियौं । यद्यपी उहाँ अहिले जसपामै हुनुहुन्छ । म आफू पनि उहाँलाई उपमेयर जिताउन निकै खटेकी थिए । अहिले पनि पहल प्रयत्न गर्दा राम्रै परिणाम आउँछ भन्ने मेरो बिस्वास छ ।

० तपाईको चुनावी एजेण्डा के हुन्छन् ?
मुख्य नारा त हाम्रो पार्टीले तय गर्ने नारा नै हुन्छ । पार्टीबाट उठेपछि देश व्यापी रुपमा त पार्टीले उठाउँदै आएका शुसासन,संमृद्धि, जस्ता नारा नै हाम्रा एजेण्डा हुन्छन् । यसका अतिरिक्त मैले आफ्नो क्षेत्रमा दुरव्यसनमा फसेका युवाहरुको उद्धार, युवाहरुलाई रोजगारी, महिलामाथि हुने हिंसाको अन्त्य गरी महिला स्वरोजगार र रोजगार जस्ता एजेण्डालाई उठाउँछु । मेरो जिल्ला मधेस प्रदेशको सिराहा हो, त्यहाँ युवाहरुले रोजगार पाउन नसक्दा ठूलो संख्यामा युवाहरु विदेशीनु परेको छ । त्यस्ता युवालई स्वदेशमै रोजगार दिनु पर्दछ भन्ने मेरो मान्यता छ । यसैगरी मैले महिला अधिकारको पक्षमा पनि आफूलाई निरन्तर सक्रिय बनाउँदै आएकि छु । महिलाहरुलाई शिक्षा दिने, सिप सिकाउने रोजगारी दिने, महिलालाई आर्थिक रुपले सक्षम बनाउने मेरो एजेण्डा हुन्छन् ।

० यी कुरा त अहिले पनि गर्न सकिन्छ पदनै चाहिन्छ र ?
अहिले पनि गरेकी छु । लागु औषधको कुलतमा फसेका युवाहरुलाई पुनस्थापना केन्द्रमा ल्याएर उपचार गर्ने । अन्याय अत्याचारमा परेका महिलाहरुको पक्षमा आवाज उठाउने, महिलाहरुको आर्थिक उन्नती हुनु पर्दछ भनेर लाग्ने त अहिले पनि गरेकि छु । तर बाहिर बसेर भन्दा निति निर्माण गर्ने तहमै गएर यी एजेण्डा कार्यान्वयन गर्न अझ सहज र प्रभावकारी हुन्छ । उचित नीति बनाउन सके सिराहा र मेरो क्षेत्रका युवा र महिलाले मात्र होइन देशै भरीका युवा र महिलाले त्यसको लाभ लिन सकछन् । त्यसैले म चुनाव लड्ने चाहना गरेकी हुँ । जनताको बिचमा धेरै काम गरेकी छु । अब जनताको बिचमा गएर मत माग्ने मेरो चाहना हो । यसअघि पनि जसपा हुदा उपेन्द्र यादवले मेयरमा उठ्न टिकट दिन्छु भन्नु भएको थियो । पछि त्यसमा केही गडबडी गर्नु भयो । चुनावमा उठ्ने मेरो चाहना अहिलेको होइन पहिलादेखिकै हो । मैले त्यही रुपले तयारी पनि गरेकी छु । त्यसैले अगामी चुनावमा म महिला र युवाको आवाज उठाउने समस्या बुझ्ने समाधानको पहल गर्ने हिसाबले चुनावमा उठ्न खोजेकी हुँ ।