विविध

महानगरपालिकाले छठ पर्वका लागि विशेष सरसफाईमा साधन र उपकरणको प्रयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छठ पर्व विशेष सरसफाई गरिरहेको छ । सूर्य उपासनासँग सम्बन्धित तराईमा धुमधामसँग मनाइने यो पर्व पछिल्ला बर्षहरुमा पहाडी जिल्लाहरुमा पनि मनाउन थालिएको छ । यससँगै काठमाडौँका कमलपोखरी, नागपोखरी, गौरीघाट गुह्येश्वरी, शंखमुल, टंकेश्वरी, बालाजुलगायतका स्थानमा श्रद्धालुहरु बेलुका अस्ताउँदो सूर्य र विहान उदाउँदो सूर्यको उपासनाका लागि जाने गरेका छन् । श्रद्धालुहरुको सहजताका र जलाशयहरुको स्वच्छताका लागि महानगरले विशेष सरसफाई गरेको वातावरण तथा कृषि विभागका प्रमुख सरिता राईले जानकारी दिईन् ।

‘हिजो हामीले कमलपोखरीबाट ४ ट्रक, टंकेश्वरीबाट २ ट्रक, गुह्येश्वरीबाट ४ ट्रक फोहोर संकलन ग¥यौँ । यसका लागि जनशक्ति, साधन र उपकरण प्रयोग गरेका छौँ ।’ राईले भनिन, ‘टंकेश्वरीमा नदी भित्रको फोहोर निकाल्न डोजर लैजाने प्रयास भइरहेको छ ।’ ब्रतालुहरुले जलाशयमा अर्घ दिन जाँदा फलफुल, मिठाईलगायत प्रसाद लैजाने, जलाशयहरुको सजावटबाट फोहोर निस्कने भएकोले ब्रत सकिए पनि सफाईको काम सकिदैँन । हामी पर्व सकिए पनि सफाईलाई निरन्तरता दिनेछौँ । विभागीय प्रमुख राईको भनाइ छ । पोखरी र नदी किनाराबाट मात्र कति फोहोर संकलन भयो भन्न कठिन छ । भर्खर तिहार सकिएकोले यससँग सम्बन्धित फोहोर पनि मिसिएकोले भन्न कठिन भएको हो, फोहोरको परिमाणका विषयमा राईको जवाफ छ ।

सरसफाईका लागि महानगर र निजी संघ संस्थाका सफाईकर्मीसँगै नगर प्रहरी, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु खटिएका छन् । यस क्रममा घाँस काट्ने, झार उखेल्ने, फोहोर संकलन गर्ने, ढुवानी गर्नेलगायत काम भइरहेका छन् । वातावरण तथा कृषि विभागले गरेको कामको निरीक्षणका लागि महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कमलपोखरीलगायत स्थानमा पुगेका थिए ।