विविध

काठमाडौँ महानगरका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने

काठमाडौँ । मतदाता शिक्षाका लागि काठमाडौँ महानगरपालिकाले वडास्तरीय ‘मतदाता शिक्षा सञ्चालन समिति’ गठन गरेर संयोजकहरुलाई आज अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको संयोजकत्वमा रहेको ‘स्थानीय तह स्तरको मतदाता शिक्षा समन्वय समिति’ को बैठकले वडा सचिवको संयोजकत्वमा शिक्षा सञ्चालन समिति गठन गरेर अभिमुृखीकरण सञ्चालन गरेको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को निर्वाचन शिक्षा कार्यक्रमअन्तर्गत प्रशासन विभागले अभिमुखीकरण सम्पन्न गरेको हो ।

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदाता शिक्षा कार्यक्रम निर्देशिकाबमोजिम मतदाता शिक्षा हेर्ने आयुक्तको संयोजकत्वमा ८ सदस्यीय निर्देशक समिति, निर्वाचन आयोगका सचिवको संयोजकत्वमा ९ सदस्यीय कार्यान्वयन समिति र सचिवकै सयोजकत्वमा ८ सदस्यीय जाँचबुझ तथा अनुगमन समिति गठन गर्ने व्यवस्था छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय समिति, पालिकाका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा ४ सदस्यीय स्थानीय तह स्तरको समन्वय समिति र वडा सचिवको संयोजकत्वमा ३ सदस्यीय मतदाता शिक्षा सञ्चालन समितिको व्यवस्था छ ।

महानगरको समन्वय समितिले वडा स्तरीय समितिका संयोजक (वडा सचिव) लाई महिला स्वयम्सेविका १ जना र सहायक स्तरको कर्मचारी १ जना तोक्ने अधिकार दिएको छ । महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेकाअनुसार निर्देशिकाले वडामा सञ्चालन हुने मतदाता शिक्षा समुदायस्तर÷घरदैलो कार्यक्रमका लागि वडामै कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट न्युनतम एसईई (एस.एल.सी.) उत्तीर्ण गरेका एकजनालाई तोक्नु पर्नेछ । महानगरबाट वडामा तोक्नुभन्दा क्रियाशीलताका आधारमा वडा सचिवले तोक्दा प्रभावकारी हुने भएकोले समन्वय समितिले महिला स्वास्थ्य स्वयमसेविका तोक्ने जिम्मेवारी वडा सचिवलाई नै दिएको छ ।

महानगरका सहायक निर्देशक एवं निर्वाचन सम्पर्क व्यक्ति राम सापकोटाकाअनुसार कार्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । वडा क्षेत्रभित्रका सबै मतदातालाई समेट्ने गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यतालिका तयार गरी महिला स्वास्थ्य स्वयंसेविकाबाट वडाभित्र समुदायस्तरमा घरदैलो कार्यक्रम सञ्चालन हुनेछ । सापकोटाले कार्यको समयावधिका विषयमा जानकारी दिए ।

समितिले मतदाता शिक्षालाई प्रभावकारी रूपमा जनस्तरसम्म पु¥याउन वडा क्षेत्रभित्र क्रियाशील राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्था, नागरिक समाज, सामाजिक अगुवा आदिसँग सामुहिक साक्षात्कार तथा अन्तरक्रिया गरी मतदाता शिक्षा कार्यक्रममा सहयोग र सहजीकरण गर्न अनुरोध गर्न सक्नेछ ।

घरदैलोसम्म पुगेर मतदातालाई आवश्यक सूचना र सन्देश प्रदान गर्ने, निर्वाचन कार्यालयबाट प्राप्त भएका पर्चा, पोष्टर, ब्रोसर लगायतका मतदाता शिक्षा सामग्री वितरण तथा टाँस गर्ने, स्थानीयस्तरमा प्रचलित मेला महोत्सव, हाटबजार आदिमा प्रचार प्रसार र सचेतनाको कार्यक्रम गर्ने काम गर्नेछ ।

वडा क्षेत्रमा आयोगबाहेक अन्य निकायबाट सञ्चालन भएका मतदाता शिक्षाका गतिविधिको बारेमा निर्वाचन कार्यालयमा नियमित जानकारी गराउने, दैनिक भएका कामको टिपोट गरी समन्वयकर्ता र अनुगमन अधिकृत समक्ष पेश गर्ने काम समितिको हो ।
मतदान सम्बन्धी जानकारीका लागि आयोगले घुम्ती टोलीमार्फत सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, नमूना मतदान तथा अन्तरक्रिया कार्यक्रम गर्नेछ ।