विविध

उपप्रमुख र  इजरायलका राजदूतको शिष्टाचार भेट, व्यायामशाला निर्माण गर्ने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउने विषयमा छलफल

काठमाडौं । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले, खुल्ला व्यायामशाला बनाउन चाहेको बताउँदै यसका लागि आवश्यक प्रक्रिया मिलाइदिन अनुरोध गरेको छ । आज शिष्टाचार भेटका लागि महानगरकी उपप्रमुख सुनिता डंगोलको कार्यकक्षमा आएका राजदूत गोडेरले यस्तो अनुरोध गरेको हो ।

तपाईँहरुले कुनै ठाउँ सोच्नु भएको छ? उपप्रमुखको प्रश्नको जवाफमा राजदुतले, वडा ३, ४ वा ८ का कुनै ठाउँ भए हुने बताए ।
‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धनलाई नीतिका रुपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ । दूताबासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन् । हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ ।’ भेटका क्रममा उपप्रमुख डंगोलले भनिन्, ‘हामी सामुदायिक शिक्षाको स्तर सुधार गर्ने कार्यक्रममा छौँ । विद्यार्थीहरुलाई जीवनउपयोगी सीप सिकाउने यसको एउटा क्षेत्र हो । दूताबासले शिक्षक तालिम सञ्चालन गरिरहेको हामीलाई जानकारी छ । यस क्षेत्रमा पनि हाम्रो सहकार्य हुन सक्छ ।’

भेटका क्रममा राजदूत गोडेरले, यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यस पटक सहरी स्वास्थ्यका लागि खुल्ला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वाश व्यक्त गरेका थिए । इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो । यसअघि तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यसँग नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले भेट गरेर आपसी हितका कुरा गका थिए ।