विविध

प्रमुख साहसँग जर्मन राजदूत डा. प्रिन्सको शिष्टाचार भेट, फोहोरको दिगो व्यवस्थापन  विषयमा कुराकानी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग आज नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सले शिष्टाचार भेट भएको छ । भेटका लागि डा. प्रिन्स प्रमुख शाहको कार्यकक्षमा आएका थिए ।

भेटका क्रममा प्रमुख साहले, फोहोरको दिगो व्यवस्थापनका लागि सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए । राजदूत प्रिन्सले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगको प्रसङ्गमा चर्चा गर्दै अहिलेको अवस्थामा बारे जानकारी लिन चाहेपछि प्रमुख साहले आफ्नो योजना सुनाएका थिए । ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दिगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’ प्रमुख साहको भनाइ छ ।
महानगरका प्राथमिक कार्यक्रमका बारेमा जानकारी दिँदै प्रमुख साहले, मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्धन र पुनस्र्थापना, खुल्ला तथा सार्वजनिक स्थलको संरक्षण, पार्क निर्माण शैक्षिक गुणस्तरको वृद्धि तथा स्वास्थ्य सेवाको पहुँच वृद्धिलगायत क्षेत्रमा काम भइरहेको बताए ।

फोहोरको बर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौँ महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगीत शिक्षण तथा प्रवर्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए । भेटका क्रममा महानगरका पूर्वाधार सल्लाहकार एवं सविचवालय सदस्य सुनिल लम्साल, सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठसहित अधिकारी सहभागी थिए ।