शिक्षा

आइतबारदेखि लाइसेन्सको ट्रायल परीक्षामा शतप्रतिशत अंक ल्याउनुपर्ने

काठमाडौं । बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल)मा ७० अंकभारको नियम लागू हुने भएको छ । प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तत्काल यो नियम लागू गर्न सबै यातायात व्यवस्था कार्यालयलाई बुधबार परिपत्र गरेको छ ।

मन्त्रालयको निर्देशनअनुसार सबै यातायात कार्यालयले यसको तयारी अघि बढाएका छन् । आगामी आइतबारदेखि यातायात व्यवस्था कार्यालय चाबहिलले सो नियम लागू गर्ने तयारी गरेको छ । अर्काे सातादेखि अन्य यातायात कार्यालयले यो नियमलाई लागू गर्ने गृहकार्यमा छन् ।

१९ चैत ०७७ मा जारी भएको सवारीचालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिकामा भएको परीक्षासम्बन्धी नयाँ प्रावधान लागू हुन लागेको छ । सो निर्देशिकामा ट्रायल परीक्षामा सय पूर्णांकमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रावधान छ । हाल शतप्रतिशत अंक ल्याउनुपर्ने हुन्छ । यद्यपि, गाडीको हकमा उकालो, ओरालो तथा ‘एल ब्याक’ तथा मोटरसाइक–स्कुटरको हकमा उकालो–ओरालो अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने हुन्छ ।

मन्त्रालयको परिपत्रअनुसार सबै यातायात कार्यालयले जनशक्ति व्यवस्थापनदेखि कर्मचारीलाई प्रशिक्षणको काम थालेका छन । नयाँ निर्देशिकाअनुसार परीक्षार्थीले सय पूर्णांकमा न्यूनतम ७० अंक ल्याउनुपर्ने हुन्छ । ट्रायलका क्रममा गल्ती गर्दा नम्बर घट्दै जान्छ । त्यसरी घट्दा ७० भन्दा कम भएमा अनुत्तीर्ण हुन्छन् ।

मोटरसाइकल तथा स्कुटरको ट्रायलमा ट्राफिक लाइटको नियम पालना नगरेमा १५, टर्निङ इन्डिकेटरको लाइट नबालेमा १०, घुमाउरो ‘८’ मा एकपटकसम्म रेखा छोएमा ५, एकपटकसम्म खुट्टा टेकेमा ५, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिन्छ ।

त्यस्तै, कार–जिपको हकमा दुईपटकसम्म घुमाउरो ८ को रेखा छोएमा ५–५ गरी १०, एकपटकसम्म सवारीको स्टार्ट बन्द भएमा ५, ट्राफिक लाइटको नियम पालना नगरेमा १५, सवारी पछाडि सार्ने क्रममा एकपटकसम्म अघि सरेमा १० नम्बर घट्छ । त्यस्तै, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिने निर्दशिकामा उल्लेख छ ।