विविध

अनधिकृत बोर्ड हटाउँदा लगाइने जरिवाना नगर सभामा प्रस्तावका रुपमा लैजाने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगर सभामा प्रस्ताव लैजाने निर्णय भएको छ । आज उपप्रमुख एवं समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । व्यवसायीले स्वीकृति नलिई वा मापदण्ड विपरीत राखेका परिचय पाटी महानगरपालिकाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णयमा उल्लेख छ ।

जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ । भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । यिनै ठाउँमा वेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनु परेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा वेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नु पर्ने भएमा छुट्टाछुट्टै जरिवाना शिफारिस हुने निर्णय भएको हो ।

बैठकमा राजस्व विभागका प्रमुख एवं समितिका सदस्य सचिव डा. शिवराज अधिकारीले राजस्व संकलनको प्रगति प्रस्तुत गर्दै गएको बर्ष पुस १५ गते सम्ममा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएकोमा यो बर्ष अङ्क बढेर ४ अर्व ३४ करोड रुपैयाँ पुगेको जानकारी दिए । बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहित समितिका सदस्यहरु सहभागी थिए ।