मुख्य समाचार

भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सरकारको नीतिगत प्राथमिकता तथा न्युनतम कार्यक्रममा अख्तियार दुरुपयोग अनसन्धान आयोग जस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानून, जनशक्ति, श्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुत गर्न एवं भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हर प्रकारको सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाए । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई जस्ता आधारभुत सेवा लगायत प्रशासनिक सेवामा सरलता, सिघ्रता, सुलभ र पारदर्शीता कायम गर्न सरकार संवेदनशील भएको बताए । उनले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्रको हैसियतले भ्रष्टाचारबिरुद्धको विश्वव्यापी प्रयासमा ऐक्यवद्धता प्रकट गर्दै राष्ट्रिय प्रतिवद्धता पूरा गर्न नेपाल सरकार दृद्ध संकल्पित रहेको बताए ।