समाचार

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । १७२ सांसदको मतसहित प्रधानमन्त्रीले संसद्को विश्वास प्राप्त गरेका हुन् । २६२ सांसद उपस्थित रहेकामा विश्वासको मतको प्रस्तावको विपक्षमा ८९ सांसदले मत दिएका छन् भने एक सांसद तटस्थ बसेका छन् ।

प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहले विश्वासको मत दिए ।

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले भने विपक्षमा मतदान गरे । एक सांसद रहेको नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो । प्रधानमन्त्री दाहालले यसअघि गत २६ पुसमा विश्वासको मत लिएका थिए । त्यसवेला प्रतिनिधिसभामा उपस्थित दुई सय ७० मध्ये दुई सय ६८ सांसदले दाहाललाई विश्वासको मत दिएका थिए ।