विविध

समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त हुँदैन — प्रमुख साह

काठमाडौँ । सहरी व्यवस्थापनसँग सम्बन्धित यस अघिका समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएको छ । ‘यसबाट कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ । यसबेला तपाईँहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ ।’ प्रमुख शाहले अपेक्षा राखेको छ ।

सडक किनारामा भएका विजुलीका पोलहरुमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिन्ह (ट््याग) लगाउन काठमाडौँ महानगरपालिकाले बैशाख ११ गते सार्वजनिक सूचना जारी गरेपछि मन्त्रालयहरुबाट पठाइएका पत्रहरुका सन्दर्भमा प्रतिक्रिया दिँदै प्रमुख शाहले धारणा राख्दै महानगरबासी तथा सेवाग्राहीसँग अपेक्षा राखेको हो ।

‘सहरलाई सुन्दर र व्यवस्थित बनाउन तथा नागरिकको जनधनको सुरक्षाका लागि हामी क्रियाशील छौँ ।’ अव्यवस्थित तारका कारण गएको बर्ष ५३ ठाउँमा आगलागी भएको तथ्यांक उल्लेख गर्दै प्रमुख साहले भनेको छ, ‘ तारको सञ्जाल व्यवस्थित बनाउन जस्ता कामको एकीकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको धेरै भइसकेको थियो । त्यसतिर कुनै सुनुवाइ नभएपछि हामीले १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न सूचना जारी गरेका थियौँ । यस बिच पनि समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरीत तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारण देखाएर यस्तो कार्य नगर्न आदेश प्राप्त भयो ।’
महानगरले सूचना जारी गरेपछि बैशाख १२ गते सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठायो । नेपाल टेलिकमबाट प्राप्त पत्रलाई उधृत गर्दै मन्त्रालयको पत्रमा भनिएको छ, ‘विभिन्न स्थानीय तहले सहरी सौन्दर्य कायम गराउने भनी दूर सञ्चार सेवा सञ्चालनका लागि सेवा प्रदायक कम्पनीले विस्तार गरेको केवल नेटवर्क अन्धाधुन्ध काटिदिने क्रम बढेकोले यस कार्यले टेलिफोन, इन्टरनेटलगायत सेवाहरु अवरुद्ध भइ सेवाबाट बञ्चित हुनु परेको अवस्था छ ।

केवल नेटवर्कहरु अन्धाधुन्ध काट्दा ठूलो परिणाममा केवल नेटवर्क विदेशबाट आयात गर्नुपर्ने भइ अनावश्यक रुपमा खर्च बढ्नुका साथै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न जाने हुन्छ ।’ सहरी सौन्दर्यमा संवेदनशील भइ सेवा उपलब्ध गराउन स्थानीय तहसँग समन्वय गरी तार व्यवस्थापनका लागि प्रयत्नशील रहने भन्ने टेलिकमको पत्र उधृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्थानीय तहसँग समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्रबाट आग्रह गरेको हो ।

के छ महानगरको सार्वजनिक सूचनामा?
प्रमुख स्तरीय निर्णयबाट बैशाख ११ गते जारी गरिएको सार्वजनिक सूचनासँगै टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केवुल प्रसारक संघलगायतलाई पत्र पठाइएको हो । सेवा प्रदायकसँगै नियामक तथा समन्वयात्मक कार्यालय तथा संघ संस्थाहरु दूर सञ्चार प्राधिकरण, सीसीटिभी क्यामरा तथा कम्युनिकेसन प्रणाली सञ्चालन गर्ने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, केवुल टेलिभिजन सञ्चालन अनुमति दिने सूचना तथा प्रसारण बिभाग, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपाल (आईएसपीएएन) लाई तार हटाउने काममा सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ । सडक किनारामा भएका धेरै पोलहरु विद्युत प्राधिकरणका हुन् । केही सेवाप्रदायकले प्राधिकरणसँग अनुमति लिएर तथा शुल्क तिरेर पोलमा तार राखेका छन् । धेरैले अनुमति लिएका छैनन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार पोलमा देखिएका तारमध्ये करिब ७० प्रतिशत तार अनावश्यक हुन् । टाँङ्दै जाँदा उब्रिएको तार पोलमा गुजुल्टो पारेर राख्ने गरिएको छ । यसले पोलले क्षमताभन्दा धेरै भार बोकिरहेका छन् । तार हटाउन नगर प्रहरी उपरीक्षकको नेतृत्वमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, एनसेल, इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएसन नेपालका प्रतिनिधि रहने टोली गठन गर्ने महानगरको योजना छ । तार हटाउने कामको अनुगमन महानगरकी उपप्रमुखको संयोजकत्वमा सरोकारवाला कार्यालय तथा संस्थाका प्रतिनिधि रहने समितिले गर्नेछ ।