शिक्षा

कक्षा ११ को छात्रवृत्ति : पुनर्योगपछि अन्तिम नतिजा प्रकाशन हुनेछ — शिक्षा विभाग

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुले कुन उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्न पाउने भन्ने सूचना अन्तिम नतिजासँगै प्रकाशन हुने शिक्षा विभागले जानकारी दिएको छ । परीक्षाको आज प्रारम्भिक नतिजा प्रकाशन भएको छ । यसमा प्राप्त भएको अङ्कमा कसैलाई चित्त नबुझे पुनर्योगका लागि आज र भोलि (साउन २१ र २२) गते २ दिन समय दिइएको छ । यसपछि अन्तिम नतिजा प्रकाशन हुनेछ ।

अन्तिम नतिजासँगै विद्यार्थीलाई योग्यता क्रमका आधारमा आफूले चाहेको विद्यालय र विषय रोज्न अवसर प्रदान गरिनेछ । यसमा दिइने १० वटा शिक्षण संस्थामध्ये उपलब्ध कोटा, योग्यता क्रम र विद्यार्थीहरुको चापका आधारमा भर्ना पाइनेछ । महानगरपालिकाभित्र छात्रवृत्ति प्रदान गर्ने १६६ वटा उच्च माध्यमिक विद्यालय छन् ।

शिक्षा अधिकारी सीताराम कोइराला भन्छन्, ‘हामीले प्रविधिको प्रयोग गरेर तत्काल प्रक्रिया सकिने र भएका निर्णय तत्काल विद्यार्थी तथा अभिभावकको सूचना पहुँचमा पुग्ने गरी काम गरिरहेका छौँ । प्रारम्भिक नतिजा आएपछि धेरै विद्यार्थीहरुले मैले कुन विद्यालयमा भर्ना पाउँछु भनेर सोधिरहनु भएको छ । उनिहरुले पुनर्योगको समय सकिएपछि प्रणालीबाट आवश्यक थप जानकारी पाउनु हुनेछ ।’

यसका लागि विद्यार्थीहरुले entrance.kathmandu.gov.np/मा गएर check your status  मा थिचेपछि देखिने पेजमा मागेको विवरण भर्नुपर्छ । विवरण भरेपछि तपाईँले तपाईँ शिफारिस हुनुभएका विद्यालयहरुको नाम देख्न सकिने छ ।

पुनर्योगका लागि विद्यार्थीहरुले एनआइसी बैङ्कको राजस्व खाता नं. ००१२०५००६१४७५०३८ मा १ हजार रुपैयाँ राजस्व बुझाएको सक्कल भौचारसहित निवेदन दिनुपर्छ ।

प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी हुनुभएको थियो । उनिहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित भएको छ ।

समूहगत नतिजाअन्तर्गत विज्ञान विषयका लागि १ हजार १०४ जना छात्रा र २ हजार ३८८ गरी ३ हजार ४९२ जना विद्यार्थीहरु योग्यता क्रम परेका छन् । विद्यार्थीहरुको धेरै चाप भएको विषय पनि यही हो । दोस्रो धेरै चाप भएको विषय व्यवस्थापनमा ३१५ जना छात्रा र ५५२ जना छात्र गरी ८६७ जना परेका छन् ।

प्राविधिक विषयतर्फ ७३ जना छात्रा र ५७ जना छात्र गरी १३० जना, कानुनमा २३ जना छात्रा र २९ जना छात्र गरी ५२ जना, मानविकीमा १ जना छात्रा र ३ जना छात्र गरी ४ जना, शिक्षामा ३ जना छात्रा र २ जना छात्र गरी ५ जनाको नाम छ ।  छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो ।

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइनेछ ।

दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई  २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।