विविध

पूर्वाधार विकासका लागि महानगरपालिकामा सम्पर्क कार्यालय खोल्नेछौँ — प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारका सम्पर्क कार्यालय स्थापनागर्ने प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिनुभएको छ । आज पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग सम्पन्न बैठकका बारेमा जानकारी दिँदै भने ‘विकासका दायित्व भएका कार्यालयहरु फरक ठाउँमा हुँदा कुनै काम अर्काको जिम्मेवारीमा भएको देखाएर तर्किन सजिलो भयो । यसलाई अन्तर सम्बन्धित बनाउन साझेदार कार्यालयलाई अनुरोध भयो । त्यसको नतिजा देखिएन । त्यसैले सबै कार्यालयका प्रतिनिधि रहने गरी महानगरमा सम्पर्क कार्यालय स्थापना गर्न लागिएको हो ।’ उनले थप्दै भने ‘सबै कार्यालयका प्रतिनिधि एकै ठाउँमा भेटेपछि सेवाग्राहीले समस्यालिएर ठाउँठाउँमा धाउनु पर्दैन ।’

बैठकले सम्पर्क कार्यालय स्थापना गर्ने, पानी तथा ढल चुहावट भएको ठाउँमा तत्काल महानगरपालिकाले मर्मत सम्भार गर्ने त्यसको खर्च सम्बन्धित कार्यालयले व्यहोर्नु पर्ने र अनुमतिनलिई कसैले पनि सडक खन्न नपाउने निर्णय भएको छ । ढल निकास, टेलिफोन तथा विद्युत सेवा, खानेपानी वितरण प्रणाली जुनसुकै क्षेत्रको काम गर्नु परे पनि अब महानगरपालिकाको स्वामित्वमा भएका सडक खण्डमा काम गर्न महानगरपालिकासँग र सडक विभागको स्वामित्वमा भएका सडक खन्नविभागसँग स्वीकृतिलिनु पर्नेछ । सडकमा भएका खाल्टाखुल्टी लामो समयसम्म नटालिने गरेको, त्यसको जिम्मेवारी कसैले नलिने यसकाकारण नागरिकलाई सास्ती भइरहने, पूर्वाधार भत्किने क्रम नरोकिने अवस्थाका विषयमा छलफल गर्दै बैठकले यस्तो निर्णय गरिएको हो ।

काठमाडौँमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयको खानेपानी पाइपलाइन विस्तार र परीक्षण, विद्युत प्राधिकरणको भूमिगततार सञ्जालनिर्माण, नदीकिनाराको करिडोरनिर्माण, अण्डरपास सञ्चालन, चक्रपथ सुधार, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकका काम धेरै देखिन्छन् । सडकमा अलपत्र देखिने काम पनि यी कार्यालयसँगै सम्बन्धित छन् ।

बैठकमा सडक विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुखहरुलाई बोलाइएको थियो ।