विविध

काठमाडौँ महानगरपालिकाद्वारा इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनालाई कला प्रदर्शनी  अवलोकन गराईयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चित्र कोर्ने कलाकारका आँखामा काठमाडौँको भव्यता अतुलनीय रहेको बताइन् । यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका स्वदेशी विदेशी अतिथिलाई ‘हाम्रो राम्रो उपत्यका’ कला प्रदर्शनी उद्घाटन तथा अवलोकन कार्यक्रममा उनले यस्तो बताएको हो । नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) ववरमहलमा असोज १३ — २३ (३० सेप्टेम्बर — १० नोभेम्बर) सम्म हुने प्रदर्शनीअन्तर्गत असोज १२ गते विशेष प्रदर्शनी गरेर अवलोकन गराइएको हो ।

प्रदर्शनी उद्घाटन गर्दै डंगोलले, छोटो अवधिका लागि आउनु भएका अतिथिलाई काठमाडौँका सबै ठाउँमा घुम्न लैजान कठिन भएकोले, उपत्यकाको प्रकृति र संस्कृतिका विषयमा कलाकारले कोरेका तस्विर प्रदर्शनी गरिएको जानकारी दिईन् । ‘कलामा काठमाडौँलाई अनेक कोणबाट नियाल्न मिल्छ । यसबाट सम्पदा संरक्षणमा काम गर्नेहरुका लागि थप सिर्जनात्मक आयाम प्राप्त भएको छ ।’ उनले भनिन, ‘चित्रकलामार्फत काठमाडौँको संस्कृति र प्रकृतिलाई प्रवर्धन गर्ने उद्देश्यले कला परिषदसँग महानगरपालिकाले सहकार्य गर्नेछ ।’
परिषदमा ४५ जना कलाकारका ६१ वटा चित्र प्रदर्शनमा राखिएका छन् । जीवनका अनुभूतिहरु, प्रकृति र सम्पदाको गरिमा, भैरव र शिवका अभिव्यक्तिहरु रङ्गको प्रयोगबाट गरिएको जीवन्त प्रस्तुति प्रदर्शनको मुख्य विशेषता हो ।