विविध

काठमाडौँ महानगरपालिकाद्वारा नेपाल बाल संगठनलाई ३० लाख रुपैयाँ प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, भोका बालबालिकालाई भोलि खाउँला भन्न नसकिने बताईन । नेपाल बाल संगठनलाई बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि ३० लाख रुपैयाँ प्रदान गर्दै यस्तो बताईन । संघ सरकारबाट प्राप्त हुनु पर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि उनले यस्तो बताईन ।

चालु आर्थिक बर्षमा संगठनको २० प्रतिशत लागत सहभागिता हुने गरी महानगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ । उपप्रमुख डंगोलले यसमध्येको ३० लाख रुपैयाँ, संगठनकी अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेको हो । यस क्रममा उनले भनिन, ‘लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नु पर्ने अवस्था हुनुहुँदैन । बाल संगठन व्यवस्थापनको मुख्य दायित्व संघ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।’ उनले, बाल पुनःस्थापना र सुधार केन्द्र स्थापना गर्ने संगठनको प्रस्तावमा महानगरपालिका सकारात्मक रहेको बताईन ।

संगठनकी अध्यक्ष न्यौपानेले, संगठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरे । भएको चल सम्पत्ति पनि ठाउँ ठाउँमा अपचलन भएको छ । त्यसलाई रोकेर आफ्नो आम्दानी बाल संरक्षणका लागि उपयोग गर्ने वातावरण बनाउँदै लगेको उनको भनाइ थियो ।

नगरपालिकाले आफ्ना क्षेत्रका बालबालिका बाल संगठनको आश्रयमा पुग्नु पर्ने अवस्थाबाट रोक्न पालिका स्तरमा संरक्षण केन्द्र बनाउन, बाल्यकालदेखि संगठनको संरक्षणमा रहेर प्रौढ अवस्थामा पुगेका व्यक्तिलाई अन्य आश्रमहरुमा व्यवस्थापनमा सहयोग गर्न, दुव्र्यसनमा रहेका बालबालिकाहरुलाई सुधार गर्न पुनःस्थापना तथा सुधार केन्द्र निर्माण र सञ्चालन गर्न पालिकाबाट सहयोगको अपेक्षा गरे । त्यस अवसरमा संगठनका उपाध्यक्ष प्रेम पराजुली, सदस्यहरु, महानगरपालिकाको सामाजिक विकास विभागका अधिकारीहरुको सहभागी थियो ।