काठमाडौँ । ‘संस्थागत स्वमूल्याङ्कन’ मा आर्थिक बर्ष २०७९/०८० मा काठमाडौँ महानगरपालिकाले ७८.५ अङ्क प्राप्त गरेको छ । पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा लिजा समितिकातर्फबाट प्रशासन विभागका प्रमुख दिपक अधिकारीले मूल्याङ्कका सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अङ्क सम्बन्धी विवरण पेश गर्नुभएको थियो । यो प्राप्ताङ्कलाई बैठकले अनुमोदन गरेको हो । आर्थिक बर्ष २०७७/०७८ मा ६०.७५ अङ्क प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक बर्ष २०७८/०७९ मा ५७.२५ मा पुगेको थियो । विगतको अवस्थामा सुधार गर्दै गएको बर्ष (२०७९/०८०) मा ७८.५ अङ्क प्राप्त गरेको हो ।
०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्व—मूल्याङ्कन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्व—मूल्याङ्कन हुन्छ । यी सूचकहरुमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अङ्क भार राखिएको छ । यसलाई १० वटा विषय क्षेत्रमा बर्गीकरण गरिएको छ । यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अङ्क प्राप्त गरेको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अङ्कको बार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अङ्कको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अङ्कको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ । १६ अङ्कको सेवा प्रवाहमा १२.५, ७ अङ्कको न्यायिक कार्य सम्पादनमा ६ र १३ अङ्कको भौतिक पूर्वाधारमा ९.७५ अङ्क पाएको छ । ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अङ्कको समन्वय सहकार्यमा ६ अङ्क प्राप्त गरेको छ ।
गएको बर्ष (२०७८/०७९) मा ५७.२५ अङ्क प्राप्त गर्दा ९ अङ्कको शासकीय प्रबन्धमा ७ अङ्क, ८ अङ्कको संगठन र प्रशासनमा ४ अङ्क, ११ अङ्कको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अङ्क प्राप्त गरेको थियो । यस्तै ११ अङ्कको वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अङ्क, १६ अङ्कको सेवा प्रवाहमा ९.७५ अङ्क, ७ अङ्कको न्यायिक कार्यमा ४ अङ्क, १३ अङ्कको भौतिक पूर्वाधारमा ४.५ अङ्क, १० अङ्कको सामाजिक समावेशीकरणमा ४.५ अङ्क, ९ अङ्कको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अङ्क र ६ अङ्कको सहकार्य र समन्वयमा ३ अङ्क प्राप्त गरेको थियो ।
संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो । आफैँले गरेको मूल्याङ्कनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुन्छ । स्वमूल्याङ्कन प्रणालीमा स्वभाविक अङ्क मात्र दावी गरिन्छ । माथिल्ला निकायबाट गुणस्तर सुनिश्चित गर्ने प्रक्रियामा मूल्याङ्कन गर्दा अङ्क नघटोस् भन्ने मूल्याङ्कनका क्रममा ख्याल गरिन्छ ।
आ. व. २०७९/०८० को मूल्याङ्कनका लागि उपनिर्देशक गंगाधर गौत्तमको संयोजकत्वमा लिजा संयोजन समिति गठन गरिएको थियो । समितिको सदस्यहरुमा वरिष्ठ शाखा अधिकृत रामप्रसाद सापकोटा, वरिष्ठ शाखा अधिकृत प्रमोदकुमार पोखरेल, वरिष्ठ शाखा अधिकृत सोमबहादुर राना, सूचना प्रविधि अधिकृत विकास ओझा रहेका थिए । समितिको सदस्य सचिव तथ्याङ्क अधिकृत कृष्णराज तिवारी रहेका थिए ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन के हो?
यस अघिको शासन व्यवस्थामा तत्कालीन नगरपालिका र गाउँ विकास समितिको मूल्याङ्कनका लागि अनुदानमा आधारित ‘स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम’ सञ्चालन थियो । स्थानीय तहका कार्य प्रक्रिया र उपलब्धीका बारेमा लेखाजोखा गरी सबल र दुर्वल पक्षको पहिचान गर्न, विकास र सुशासनमा रहेका कमीकमजोरीका बारेमा जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न यस प्रकारको स्व—मूल्याङ्कनको प्रबन्ध गरिएको हो । स्थानीय तहको तुलना योग्य सूचक तर्जुमा गरेर प्रतिस्पर्धात्मक सुधार हुने यसको अपेक्षा गरिएको छ ।
Add Comment