विविध

सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाडौँ । सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान विष्णुमती नदी किनारा शोभा भगवतीमा आज स्मृति सभा सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सहिद सप्ताह मुल समारोह समितिले सभा आयोजना गरेको हो । सभामा स्मृति मन्तव्य, योगदानको चर्चासहित सहिदहरुको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

स्मृति सभामा बोल्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सहिदहरुको योगदानको गाथा पुस्तान्तरण गर्नुपर्ने धारणा राखिन । ‘आजको कार्यक्रममा हजुरबुबा, हजुरआमा र बुबा आमा पुस्ता सहभागी भएका थिए । आउँदा बर्ष नाति, नातिना र छोराछोरी लिएर आउनुहोला । आज हामीलाई खुला बनाउन उनिहरुले दिएको प्राणको आहुती नयाँ पुस्तालाई बुझाउनु पर्छ ।’ उनले थप्दै भनिन, ‘स्वतन्त्र नागरिक भएको राष्ट्र निर्माण हुने सपना देखेर प्राणको आहुती दिएर सहिदहरुको योगदानबाट प्राप्त अधिकार जोगाउन असल नागरिक हुन जरुरी छ ।’ उनले विभिन्न काल खण्डमा भएका राजनीतिक आन्दोलनका सहिदहरुले दिएको योगदानको चर्चा गरेकि थिइन ।

नागरिक स्वतन्त्रताका लागि सहिदहरुले गर्नु भएको त्यागबाट प्राप्त उपलब्धीबाट नागरिकले कसरी पाएका छन्? जनप्रतिनिधि हुनुको नाताले म र मजस्ता जनप्रतिनिधिले स्वमूल्याङ्कन गर्ने बेला आएको छ । वडा १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक ईश्वरमान डंगोलले भनिन, ‘अहिले सरीर त्याग गर्नु पर्ने अवस्था छैन । व्यक्तिगत स्वार्थ त्याग गरेर नागरिक सुविधाका लागि थप मिहनेत गरे पुग्छ ।’ उनले राणा शासन कालमा पढ्न नपाउने, घरका छोरीहरु सुरक्षित राख्न नसकिने कालो र कठिन समयबाट अहिलेको अवस्था प्रदान गर्ने सहिदहरुको योगदान विर्सिन बिर्सिए सहिदको त्यागप्रति अनादर हुने बताए ।

‘राणाकालमा सर्वसाधारण जनताले नुन खान पाउँदैनथे । आफूले जे उब्जायो, त्यही खानु पथ्र्यो । शासकको पहुँचमा हुनेले मात्र नुन खान पाउँथे ।’ शासन भोगेका पाका ज्येष्ठ नागरिकको भनाइलाई उधृत गर्दै वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले भने, ‘नुन खान नपाउने अवस्थाबाट मौलिक अधिकार र मानव अधिकारको पूर्ण प्रयोग गर्ने अवस्था, कसले कसरी प्रदान ग¥यो? चर्चा गर्नु पर्छ । योगदान दिने सहिदहरुको सपना हामीले पूरा गराउनु पर्छ ।’

चन्द मनको दयालु तर आँटिलो थिए । नेपाल प्रजा परिषदको नाम उनले नै प्रस्ताव गरेका थिए । चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित थिए । प्राणदण्ड पाउने भएपछि गंगालालले पितालाई पत्र लेख्दै भनेका थिए, ‘हजुरका अरु पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् ।’

हुकुमी शासनको विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रकालागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रकालागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले, भारतमा महात्मा गान्धीले सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिएका थिए । त्यस्तै रामेछापको भंगेरीमा जन्मिेका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लागेका गिए । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गरेका थिए ।

श्रेष्ठ र चन्दलाई ज्यानदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो । त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराएका थिए ।

महानगरपालिकाले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक राखेको छ । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उनिहरुले स्वीकार गरेको मृत्युदण्डलाई चीरस्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले सदाहत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको हो ।

यस बर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो । सहिद दिवसको अन्तिम दिने शान्तिबाटिकाबाट प्रभातफेरी हुने र सहिद स्मारक लैनचौर स्मृति सभा हुने छ ।