काठमाडौँ । प्रदर्शनी मार्गको पैदल ट्र्याकमा प्रति स्क्वायर मिटर ३५ मेट्रिक टनका मल्टिकलर ब्लक विछ््याइँदैछ । पद्मोदय मोडदेखि टुँडिखेलसम्मको सडक खण्ड दुवैतिर (करिब ११ सय मिटर) मार्ग विस्तार तथा पुननिर्माण हुँदै छ । महानगरपालिकाको योजना तथा मूल्याङ्कन समितिले निर्माण कार्यको अनुगमन गरेको छ । यस क्रममा वेसको मोटाइ नापिएको थियो । यहाँ राख्न ल्याइएका ब्लकहरुको परीक्षणका लागि नमूना संकलन गरिएको थियो ।
‘पूर्वाधार निर्माणका विभिन्न चरणमा अनुगमन गरेर मापदण्ड ठगी हुनबाट जोगाउँछौँ । निर्माण पक्षलाई इमान्दार भएर काम गर्ने संस्कृतिको विकास गराउँछौँ ।’ कामको अनुगमन गर्दै समितिकी संयोजक एवं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन ‘गएको बर्ष राखिएका ब्लक फुटेको, उप्किएको, भासिएको गुनासो आइरहेको छ । अब सम्पन्न योजनाको अनुगमन गर्नेछौँ ।’
यो सडक खण्ड निर्माणको लागत २ करोड ९८ लाख ४३ हजार रुपैयाँ थियो । ०७९÷०८० मा बोलपत्र आव्हान भएर २०८०/०८१ मा कार्यान्वयनमा आएको योजनाका बारेमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर बाबुराम भट्टराईकाले भने, ‘पहिले सडक किनारा २ मिटरको थियो । किनारा र सडकका विचमा सतहको पानी बग्ने ठाउँ थियो । अहिले सतहको पानी बग्नका लागि ढल राखेर १ मिटर ठाउँ पैदल मार्गका लागि बढाइएको छ । पुरानो ब्लक राखिएको ठाउँमा बेस राख्नु पर्दैन । विस्तार गरिएको ठाउँमा बेस राखेर सतह मिलाइनेछ ।’
यो थप काम गर्न लागत रकममा वृद्धि भएर ३ करोड ८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो रकम र योजना स्वीकृत भइसकेको योजना, अनुगमन तथा मूल्याङ्कन एकाइले जानकारी दिएको छ ।
Add Comment