काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य प्रेम स्याङ्तानको उपचारको क्रममा ४२ वर्षको उमेरमा भएको असामयिक निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित पत्रकार स्याङतानको उपचारत अवस्थामा आज बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा निधन भएको हो ।
पत्रकार स्याङतान विगत एक वर्षदेखि परिवारसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको पत्रकार आवसगृहमा रहेर मिर्गौलाको डायलासिस र उपचार गराउँदै आएका थिए ।
वैदेशिक रोजगारीका सिलसिलामा रहँदा नेपाल पत्रकार महासंघ कतार शाखामा आवद्ध रही सहसचिवको जिम्मेवारी निर्वाह गरेका स्याङ्तानले स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएर आफ्नो महासंघको सदस्यता काठमाडौं शाखामा स्थानान्तरण गरेका थिए । त्यस क्रममा उनले राजधानी दैनिकलगायतका पत्रपत्रिका काम गरेका थिए ।
पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका स्याङतानकोे निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाउनुका साथै महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय स्याङतानका श्रीमती र दुई छोरीे रहेका छन् ।
नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै स्वर्गीय पत्रकार स्याङतानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
Add Comment