विविध

‘महानगर स्वयमसेवक’का लागि आवेदन खुला : वातावरण, शिक्षा र सम्पदा क्षेत्रको कामका लागि १४० जनालाई सहभागी गराइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयमसेवक) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।

यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्छ । झाको भनाइ छ । महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधान भन्छन, ‘बाबा कार्यक्रम विद्यालय र वातावरणसँग केन्द्रीत छ । सम्युवा कार्यक्रम समुदायसँग बढी सम्बन्धित छ । यसमा बालबालिका र युवा दुवै अट्टाउँछन् । यो प्लेटफर्ममा पैसा तिरेर प्राप्त गर्न नसकिने कुरा पाइन्छ ।’

फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शब्दसम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार ९फागुन २० गते० राती ११ बजेर ५९ मिनेटभित्र भर्न सकिनेछ । समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र दिइनेछ ।