विविध

सडक व्यापारलाई हटाएर पैदल मार्ग सुचारु गराउन खोज्दा नगरप्रहरी माथि ढुङ्गा प्रहार

काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको जानकारी दिँदै महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले, नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको बताए । घाइतेमध्ये लामिछानेसहित ३ जनालाई टाउकोमा चोट लागेर गम्भीर हुनुभएको उनको भनाइ छ ।

त्यस क्षेत्रमा सडक व्यापार नगर्न हामीले गएको १ महिना अघिदेखि माइकिङ् गरेर सचेत गराइरहेका थियौँ । गएको १५ दिनअघि देखि व्यापारीहरुले नगर प्रहरीलाई गाली गर्न थालेका थिए । प्रहरी बलका प्रमुख पाण्डे भन्छन, ‘बुधबार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमाण्डर लामिछानेको कमाण्डमा प्रहरीहरु सुन्धारा गएका थिए । उनि पुग्ने वित्तिकै आक्रमण भयो ।’ घटनाका बारेमा जानकारी गराउँदै उनले भने ‘भीडको अगाडि महिला राखेर पछाडिबाट फलामे रड र ढुङ्गा प्रहार भयो । यसबाट बच्न नगर प्रहरीले प्रतिरक्षा गरेको हो । कसैमाथि दमन गर्ने वा घरपकड गर्ने काम हामीबाट भएको छैन । त्यो हाम्रो काम पनि होइन ।’

सडक व्यापारलाई महानगरपालिकाले पूर्ण निषेध गरेको छ । कुनै समय दिएर व्यापार गर्न पाउने भनेको छैन । यस्तो नीति पनि छैन । सडक व्यापार पूर्ण निषेध गर्ने महानगरपालिकाको नीति कार्यान्वयन गर्ने दायित्व महानगर प्रहरी बलको हो । हामीले कर्तव्य निर्वाह गर्दा गर्दै घटना भएको हो ।