विविध

विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रमुख शाहबाट प्रोत्साहन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विभागीय प्रमुखहरुलाई विश्वाश कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन गरेका छन् । चालु आर्थिक बर्षको ६ महिनामा प्राप्त भएका उपलब्धी, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अबलम्बन गरिएका उपायका विषयमा छलफल गर्दै उनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउनु नपर्ने बताए । ‘गलत गर्नु हुँदैन । गल्ती गर्नेलाई कारवाही हुनु, राम्रो गर्नेलाई प्रोत्साहन हो ।’ प्रमुख शाहले भने, ‘गएको बर्षको तुलनामा यस बर्ष गुनासा कम छन् । सुधारका संकेतहरु देखिएका छन् । खर्च कम भयो भनेर नआत्तिनु, भौतिक प्रगति कति भएको छ, हेर्नू । काम भइसकेपछि भुक्तानी नरोक्नु ।’

उनले बर्षौँसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने उल्लेख गर्दै भने ‘धेरै कार्यक्रमहरुमध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस भनेर हामीले महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएका हौँ । यी कार्यक्रमको कार्यान्वयन विभागीय प्रमुखहरुको हो । यसलाई प्राथमिकता राख्नुहोला ।’ लक्ष्य प्राप्त गर्न कर्मचारीको सक्रियता आवश्यक रहेको बताउँदै प्रमुख शाहले, भ्रमण, गोष्ठी र कार्यशाला घटाउन र वार्षिक लक्ष्य पूरा गराउन सक्रिय हुन निर्देशन दिएका छन् ।