समाचार

महिला मन्त्री चौधरी र इजरायली राजदूत गोडरबिच शिष्टाचार भेट

काठमाडौँ, २५  जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भेट गर्दै मन्त्री चौधरीले नेपाल र इजरायलबिच १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रही आएको बताउँदै मन्त्री चौधरीले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेकि थिईन । इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा योगदान दिन आग्रह गरेकि हुन ।

विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल –इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने बताईन । इजरायल सरकारले नेपाली युवाहरू (खासगरी महिला) लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरिन ।

यसैबिच भेटका क्रममा राजदूत गोडरले विपिन जोशी छिट्टै रिलिज हुने विश्वास व्यक्त गरे । गोडरले जोशीका परिवारलाई आइतबार भेट्न जाने कार्यक्रम रहेको समेत बताए । नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाहरूको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उनले अवसरको हिसाबमा पनि धेरै अवसरहरूका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जम्मा केयर गिभरमध्ये ७० प्रतिशत महिला केयर गिभर रहेको बताउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्याेएको योगदानको प्रशंसा गरेका थिए ।