विविध

विधानसम्मत मागलाई वेवास्ता गरेर नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन गर्नु, गराउनु औचित्यपुर्ण लाग्दैन : अनलाइन पत्रकार संघ

काठमाडौं, असार ९ । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति–२०८१ ले यहि मिति २०८१।०३।०७ गते सार्वजनिक गरेको मतदाता नामावलीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्ति मार्फत संघको विधान २०६४ अनुसार कार्यसमिति बैठकले स्वीकृत गरी नेपाल पत्रकार महासंघ एसोसियट प्रदेश समिति समक्ष पठाएका सदस्य नामावलीमा हेरफेर गरी सार्वजनिक गरिएकोमा संघ असहमति प्रकट गरेको छ । अनलाइन पत्रकार संघको २०८०।०३।०१ गते बसेको बैठकले ५१ जना सदस्यको नवीकरण, २३ जना नयाँ सदस्यको स्वीकृत, ७ जनाको स्थानान्तरण र एक जनालाई मानार्थ सदस्यको लागि एसोसियट प्रदेश समितिमार्फत नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पठाएको थियो ।

तर, केन्द्रीय निर्वाचन समितिले सार्बजनिक गरेको मतदाता नामावलीमा नयाँ सदस्य उल्लेख नभएको, कतिपय नवीकरण नगरेका भनी उल्लेख गरेर पठाएका सदस्यलाई महासंघले संघलाई जानकारी नगराई नवीकरण गर्नु अत्यन्त गैरजिम्मेवारी कार्य हो । संघले विधान अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरेर पत्रकारितामा क्रियाशील पत्रकारहरुलाई नयाँ सदस्यको स्वीकृति दिएको केन्द्रिय निर्वाचन समिति समक्ष पुनः स्मरण गराउन चाहेको र संघले सिफारिस गरेका क्रियाशील पत्रकारलाई सदस्यता नदिने र संघलाई जानकारी नगराई मनोमानी ढंगले सदस्यता दिने निर्णय तत्काल सच्याउन अनलाइन पत्रकार संघले जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघका जायज र विधानसम्मत मागलाई वेवास्ता गरेर नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन गर्नु, गराउनु औचित्यपुर्ण हुन्छ भन्ने हामीलाई लाग्दैन । तसर्थ अनलाइन पत्रकार संघले उठाएका जायज र विधानसम्मतका मागलाई उचित सम्बोधन गरी नेपाल पत्रकार महासंघले हामीलाई चुनावमा भाग लिन उपयुक्त वातावरण निर्माण गरिदिने छ र कानूनी बाटो अबलम्बन गर्न बाध्य पार्ने छैन भन्ने हाम्रो बिश्वास लिएको अध्यक्ष डिल्लीप्रसाद सापकोटा र सचिव गोविन्द मरासिनीको संयुक्त हस्ताक्षेमा जारि गरिएको विज्ञप्तिमा भनिएको छ ।