विविध

निर्वाचन आयोगद्वारा चौथो रणनीतिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा सुझाव आह्वान

काठमाडौं, असार २७ । निर्वाचन आयोगलाई प्राप्त संवैधानिक तथा कानून दायित्व पूरा गर्न र नेपालको संविधान, निर्वाचन व्यवस्थापन सम्बन्धी कानून तथा अन्तर्राष्ट्रिय मापदण्डसमेतका आधारमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय निर्वाचनका लागि आयोगलाई सक्षम र सुदृढ तुल्याउने ध्येयले आर्थिक वर्ष २०६५/६६ मा पहिलो पञ्चर्षीय रणनीतिक योजना (२०६५/०६६ देखि २०७०/०७१) तर्जूमा गरी कार्यान्वयनको अभ्यास शुरुवात गरिएको थियो । यस बीचमा दोस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७१/७२–२०७५/७६) र तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७–२०८०/८१) को समेत कार्यान्वयन भइसकेको सर्व विदितै छ ।

यसै क्रममा विगतका पञ्चवर्षीय रणनीतिक योजनाहरूको कार्यान्वयनबाट प्राप्त सिकाइ तथा अनुभव, राजनीतिक दल तथा सरोकारवालाहरूसँग विभिन्न समयमा गरिएका अन्तरक्रियाबाट प्राप्त सुझाव, निर्वाचन समीक्षाबाट प्राप्त पृष्ठपोषण, निर्वाचन अनुगमन तथा पर्यवेक्षणबाट प्राप्त प्रतिवेदनको विश्लेषण र अन्तर्राष्ट्रियस्तरमा प्रयोगमा रहेका निर्वाचन व्यवस्थापनका असल अभ्यासको अध्ययन तथा अवलोकन, अघिल्लो रणनीतिक योजनामा सम्पन्न हुन नसकेका क्रियाकलापहरू र थप समावेश गर्नुपर्ने विषयहरूको वृहत समीक्षा गर्दै आगामी दिनहरूमा कार्यान्वयन गर्नुपर्ने क्रियाकलापहरूको पहिचान गरी यो चौथो रणनीतिक योजना (२०८१÷८२–२०८५÷८६) को मस्यौदा गरिएको छ ।

यस मस्यौदामा मुख्यतः हालको अवस्थाको विश्लेषण गरी रणनीतिक योजनाका मार्गदर्शक सिद्धान्त, दूरदृष्टि ध्येय लक्ष्य उद्धेश्य नीति रणनीति र कार्ययोजना सहितका क्रियाकलापहरू उल्लेख गरिएका छन् । अतः यस रणनीतिक योजनाको मस्यौदामा इच्छुक संघसंस्था, निकाय, व्यक्ति तथा आमसञ्चार माध्यमहरूबाट २०८१ साउन ७ गतेसम्म आयोगको सचिवालयमा प्राप्त हुने गरी राय, सुझाव, प्रतिक्रिया र पृष्ठपोषण दिनुहुन आयोगको मिति २०८१ असार २७ गतेको निर्णयानुसार सार्वजनिक आव्हान गरिएको छ ।

चौथो रणनीतिक योजनाको मस्यौदा आयोगको वेबसाइट (www.election.gov.np) मा राखिएको र राय, सुझाव, प्रतिक्रिया र पृष्ठपोषण आयोगको इमेल ecn.planning@election.gov.np  वा अन्य कुनै उपयुक्त माध्यमबाट दिन सकिने व्यहोरा अनुरोध गर्दै आयोगको रणनीतिक योजना तर्जुमा गर्ने कार्यमा सबैको सहभागिताको निम्ति निर्वाचन आयोगले विज्ञप्ति मार्फत हार्दिक अपिल गरेको छ ।