इस्लामावाद, भाद्र १९ । पाकिस्तान व्यापारको हिसाबले विश्वको सबैभन्दा खराब देशमध्ये एक मानिन्छ । यो त्यस्तो देश हो जहाँ कुनै पनि लगानी सुरक्षित छैन । यसको प्रमाण हालैको कराँचीको घटना हो । वास्तवमा, विदेशमा बस्ने एक पाकिस्तानी व्यापारीले कराँचीको गुलिस्तान–ए–जोहर क्षेत्रमा करोडौं रुपैयाँ खर्च गरेर एक विलासी सपिङ मल बनाएका थिए । तर, उद्घाटनको दिन आएको भीडले सपिङ मलका पसलमा नै लुटपाट गरेको थियो । स्थिति यति बिग्रियो कि प्रहरी घटनास्थल पुगेर भीडलाई बाँसको लाठी प्रयोग गरेर तितरबितर गर्नुपरेको थियो ।
पकिस्तानि रिपोर्ट अनुसार मलको उद्घाटनको दिन मानिसलाई आकर्षित गर्न ठूला अफर दिइएको थियो । यस्तो अवस्थामा कम पैसामा सामान किन्न ठूलो संख्यामा मानिसहरु मलमा पुगेका थिए । भीड बढेको देखेर मलका सुरक्षाकर्मीले ढोका बन्द गरेका थिए । यसबाट बाहिर उभिएको भीड आक्रोशित भयो र लाठीसहित आक्रमण गरेका थिए । भीडले मलको सिसाको पर्खाल तोडफोड गर्नुका साथै सुरक्षाकर्मीसँग पनि हानाहान गरेको थियो । यसपछि जसलाई जे हात लाग्यो त्यही उठायो र बाहिर भागेका थिए ।
घटनाको समयमा घटनास्थलमा कोही पनि प्रहरी उपस्थित थिएनन् । तर स्थिति उग्र बनेपछि मल प्रशासनले प्रहरीलाई खबर गरेको थियो । घटनास्थल पुगेका प्रहरीले पनि भीडलाई रोक्न सकेनन् । यस्तो अवस्थामा थप सुरक्षाकर्मी बोलाएर स्थिति नियन्त्रणमा लिइएको थियो । कराँची एसएसपी पूर्वी फारुक रजाका अनुसार मार्ट बन्द भएपछि केही बदमाशहरू निस्किए र ढुङ्गा हानेको प्रयास गरेका थिए । मल व्यवस्थापनले पहिल्यै जानकारी नगरेको र पछि स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस अराजकताका कारण कराचीको जोहर र राबिया सिटी क्षेत्रमा ठूलो ट्राफिक जाम भएको थियो, जसका कारण सवारीसाधनको लामो लाइन लागेको थियो ।
Add Comment