काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रज्ञा भवन काठमाडौंमा पार्टीको पहिलो महाधिवेशन आज उद्घाटनसँगै सुरु भएको छ । महाधिवेशन सोबारसम्म जारि रहने छ ।
महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संयोजक डा. भट्टराईले पार्टीको पहिलो महाधिवेशनमा वैकल्पिक राजनीतिकको रोडम्याप प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा आइतबार काठमाडौंमा सुरु भएको महाधिवेशनमा छलफल सुरु भएको छ ।
पाँच खण्डमा विभाजित दस्तावेजमा नयाँ युगका नयाँ चुनौती र सम्भावना, नयाँ युगमा नेपालको अवस्था, नेपालमा वैकल्पिक राजनीतिका प्रमुख कार्यभार, वैकल्पिक पार्टीको संगठनात्मक सिद्धान्त, संरचना र आधारहरू, र पार्टीको तत्कालीन कार्ययोजना उल्लेख छ ।
उनले नेसपा (नयाँ शक्तिले) कुनै अहंकार र एकलकाँटे प्रवृत्ति नबोक्ने तर आधारभूत मूल्यमान्यता र विचारमा दृढ भएर वैकल्पिक शक्तिहरूसँग सहकार्य गर्ने पहल गर्ने उल्लेख गरेका छन् ।
‘पुराना पतनशील र भ्रष्ट शक्तिहरूका विकल्पमा उदय भइरहेका विभिन्न नयाँ शक्ति र व्यक्तिहरूसँग संवाद, सहकार्य, कार्यगत एकता, संयुक्त मोर्चा गर्दै अन्ततः बृहत् वैकल्पिक शक्तिहरूको ध्रुवीकरणका निम्ति प्रयत्न तथा अगुवाइ गर्नुपर्छ,’ उनको प्रस्ताव छ ।
संकीर्णता, दलीय आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर नयाँ र वैकल्पिक पार्टी समूह एवं व्यक्तिहरूसँग संवाद र सहकार्यको व्यवस्थित पहल पार्टीको संवाद समितिले अघि बढाउने प्रस्ताव उनले दस्तावेजमा गरेका छन् ।
भट्टराईले वैकल्पिक राजनीतिलाई यो युगको अपरिहार्य आवश्यकताका रूपमा उल्लेख गर्दै ‘हामी आकस्मिकताले त्यसका वाहक हौं । हामीले वैकल्पिक राजनीतिक शक्ति निर्माण नगरे वा गर्न नसके युगले अर्को पात्र जन्माउनेछ । तर संसार र नेपालको यो ऐतिहासिक घडीमा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको विकल्प छैन ।’
Add Comment