Home » Sample Page » युएसएआइडीको पत्र देखाएर ८ करोड पचाउने ब्लु डायमन्डको दाउ, चञ्चलाको अनुरोध, “अन्धभक्त नहुनुहोस्”
विविध

युएसएआइडीको पत्र देखाएर ८ करोड पचाउने ब्लु डायमन्डको दाउ, चञ्चलाको अनुरोध, “अन्धभक्त नहुनुहोस्”

काठमाडौं । एचआइभी परियोजनाका लागि युएसएआइडीले दिएको ८ करोड रुपैयाँको हिसाब सार्वजनिक नगरी ब्लु डायमन्ड सोसाइटीले अनियमितता ढाकछोप गर्न सामाजिक सञ्जाल फेसबुकमा युएसएआइडीले दिएको भनिएको “धन्यवाद पत्र” सार्वजनिक गरेको छ । उक्त पत्र सार्वजनिक भएपछि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय आक्रोशित बनेको छ । समुदायका सदस्यहरू सडकमा भिख माग्नुपर्ने अवस्थामा पुगेका बेला ब्लु डायमन्ड भने करोडौँ रकमको सार्वजनिक हिसाब नदिई ‘धन्यवादको पत्र’ देखाएर उम्किन खोजेको आरोप लागेको छ । यो घटनाले संस्थाप्रतिको विश्वास सङ्कटलाई अझै गहिरो बनाएको छ ।

समुदायका सदस्यहरूले सोसाइटीकी सञ्जीव गुरुङ (पिंकी), सुवेन ढकाल (मनिषा), सञ्जय शर्मा, पदमकान्त निरौला (प्रकाश) जस्ता व्यक्तिहरूको नाम उल्लेख गर्दै, “नेपाल सरकार र दातृ निकायसँग मिलेमतोमा अनियमितता हुँदै आएको छ” भन्ने आरोप सार्वजनिक रूपमा लगाएका छन् । उनीहरूको टिप्पणीमा भनिएको छ,“युएसएआइडीको पत्र देखाएर समुदायको आँखामा छारो हाल्ने प्रयास भइरहेको छ ।”
ब्लु डायमन्डले सार्वजनिक गरेको उक्त पत्र साँच्चिकै युएसएआइडीको हो वा होइन भन्ने पुष्टि अहिलेसम्म हुन सकेको छैन । पत्रमा मिति स्पष्ट छैन, उल्लेख गरिएका विवरणहरू अस्पष्ट छन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि निरन्तर आवाज उठाउँदै आएकी अधिकारकर्मी एवं लिड नेपाल, झापा दमककी कार्यकारी निर्देशक नुमा लिम्बु (चञ्चला) ले ब्लु डायमन्डको नेतृत्वमा रहेका केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूर्तिका लागि समुदायको नाममा प्रपञ्च रचेर ८ करोड पचाउने प्रयास गरिरहेको गम्भीर आरोप लगाएकी छन् ।

नुमा हाल काठमाडौँमा बसेर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हरेक गतिविधिमा संलग्न छिन् । उनी मायाको पहिचान नेपालमा आबद्ध छिन् । एचआइभी परियोजनामा पदमकान्त निरौला ९प्रकाश० प्रमुखका रूपमा संलग्न छन् । सोही परियोजनामा ८ करोड रुपैयाँ गायब भएको समाचार बाहिरिएपछि मात्र ब्लु डायमन्डले फेसबुकमार्फत उक्त धन्यवाद पत्र सार्वजनिक गरेको हो ।

चञ्चलाले यसअघि नै सामाजिक सञ्जालमा युएसएआइडीको पेफार  (PEPFAR) कार्यक्रम बन्द भएपछि एमएसएम–टिजी लक्षित एचआइभी परियोजनाको बाँकी ८ करोड ब्लु डायमन्डलाई छोडिएको तर त्यसको खर्च विवरण अस्पष्ट रहेको बताएकी थिइन् । उनको भनाइमा, “हामी सबैले माग गर्नुपर्छ, यो रकमको प्रयोगबारे पूर्ण पारदर्शिता होस् । यो रकम सार्वजनिक स्वास्थ्य र कमजोर समुदायको हितका लागि छुट्टाइएको हो, व्यक्तिगत वा संस्थागत स्वार्थका लागि होइन ।”

उनले थप लेखेकी थिइन्,“खर्च विवरण, कार्यक्रम कार्यान्वयन अवस्था, र संलग्न सङ्घ–संस्थाहरूको नाम सार्वजनिक गर्नुपर्छ । ‘सार्वजनिक रकम, सार्वजनिक उत्तरदायित्व’ भन्ने भावना आजको आवश्यकता हो ।” जुलाई २०२५ मा लेखिएको भनिएको युएसएआइडीको पत्र सार्वजनिक गरे पनि न त बाँकी ८ करोडको हिसाब आएको छ, न हालै पाएको ११ करोड अनुदानको विवरण नै सार्वजनिक गरिएको छ । त्यसैले पत्र ढाकछोपको हतियारको रूपमा प्रयोग भएको आरोप व्यापक रूपमा उठिरहेको छ ।

पत्र सार्वजनिक भए लगत्तै चञ्चलाले पुनः भनिन्, “युएसएआइडीले धन्यवाद पत्र दिँदै गर्दा ८ करोडको हिसाब पनि सार्वजनिक गरिनुपर्छ । बाँकी ८ करोड र हालै प्राप्त ११ करोड रकमको स्पष्ट हिसाब सार्वजनिक गरियोस् ।” चञ्चलाले चेतावनी दिँदै लेखिन्,“साना–तिना कार्यक्रमहरूमा भाग लिन पाउने आशामा, भइरहेका अनियमितता र अपारदर्शिता थाहा हुँदाहुँदै पनि यस्ता व्यक्तिहरूलाई समर्थन गर्नु समुदायप्रति गद्दारी हो ।”

उनको थप भनाइ, “बेलैमा आँखा खोल्नुस् , तपाईँहरूको सहनशीलताले भ्रष्टाचारमा लिप्त व्यक्तिहरूलाई अझै बल र हौसला दिएको छ । यो व्यक्तिगत स्वार्थका लागि होइन, देशभर रहेका समुदायका सदस्यका लागि बोल्नै पर्ने अवस्था आएको हो ।” “कमसेकम सही र गलत त छुट्टाउनुहोस् ,अन्धभक्त नहुनुहोस् । बेलैमा आँखा खोल्नुहोस् ।”

अर्की अधिकारकर्मी सञ्जीवनी लामा ९सन्ध्या० ले सामाजिक सञ्जालमा लेखेकी छन्,“चाँडोभन्दा चाँडो यसको छिनोफानो हुनुपर्छ । यसरी हातमा हात राखेर टुलुटुलु हेरेर केही हुनेवाला छैन । तसर्थ, एकजुट भएर भ्रष्टाचारविरुद्ध आवाज उठाऔँ ।” अमर तामाङ बलले चञ्चलाको समर्थन गर्दै लेखेका छन्, “सम्मानको आधारसँगै बलियो प्रहार नुमा जी । सत्य के हो, त्यो सार्वजनिक गर्नुपर्छ । यस्तै बेथिति रहेमा हाम्रो पहिचानको ढोका बन्द हुनेछ कि भन्ने चिन्ता छ ।”

नेपालको पहिलो मिस्टर गे हेण्डसम तथा इन्क्लुसिभ ग्यालेक्सीका सञ्चालक विश्वराज अधिकारीले पनि व्यङ्ग्य गर्दै लेखेका छन्,–“अभियान चलाउने होइन, अभियान सखाप बनाउनेलाई ताज, प्रमाणपत्र र सम्मान कार्यक्रम अझै बृहत् रूपमा सञ्चालन गर्न दातृ निकायहरूलाई विनम्र अनुरोध छ ।”

सरकारी छानबिन सुरु
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ब्लु डायमन्ड सोसाइटीमा देखिएको अनियमितता सम्बन्धमा छानबिन सुरु गरेपछि सोसाइटीको नेतृत्व तहमा छटपटी देखिएको छ । प्रशासनले ७ दिने अल्टिमेटम दिई पत्र पठाइसकेको छ । प्रशासनको पत्रको मिति अनुसार ७ दिन शुक्रवारसम्म पुग्नेछ भने सो पत्र सोमबार बुझेको आधारमा अर्को हप्ता त्यसको समय सकिनेछ ।