काठमाडौं, साउन ३ — विश्वका विभिन्न देशमा केही समयका लागि प्रभावित बनेका फेसबुक र इन्स्टाग्रामको सेवा पुनः सामान्य अवस्थामा फर्किएको छ।
नेपालमा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि फेसबुकको डेस्कटप संस्करणमा लगइन नहुने, पेज नखुल्ने तथा “Account Temporarily Unavailable” सन्देश देखिने समस्या आएको थियो। यद्यपि केही प्रयोगकर्ताले मोबाइल एपबाट भने सेवा प्रयोग गर्न सकेका थिए। करिब ३ बजेदेखि दुवै प्लेटफर्म पुनः सहज रूपमा सञ्चालनमा आएका छन्।
यो समस्या सुरुमा अमेरिकामा देखिएको थियो र त्यसपछि विश्वका विभिन्न मुलुकका प्रयोगकर्ताले पनि यस्तै समस्या भोगेका थिए। अनलाइन सेवा निगरानी गर्ने डाउनडिटेक्टरका अनुसार हजारौँ प्रयोगकर्ताले एकै समयमा सेवा अवरुद्ध भएको रिपोर्ट गरेका थिए।
डाउनडिटेक्टरको तथ्यांकअनुसार करिब ६३ प्रतिशत समस्या डेस्कटप वेबसाइटमा, २० प्रतिशत मोबाइल उपकरणमा र १० प्रतिशत मोबाइल एपमा देखिएको थियो। धेरै प्रयोगकर्ताले मोबाइलमा फेसबुक चलिरहेको भए पनि डेस्कटप संस्करणमा खाता अस्थायी रूपमा उपलब्ध नभएको सन्देश देखिएको बताएका थिए।
सेवा पुनः सञ्चालनमा आए पनि मेटाले समस्या उत्पन्न हुनुको कारणबारे हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
यसअघि सन् २०२१ मा पनि मेटाका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म विश्वभर अवरुद्ध भएका थिए। त्यसबेला कम्पनीले नेटवर्क पूर्वाधारमा गरिएको कन्फिगरेसन परिवर्तनका कारण समस्या आएको जनाएको थियो। त्यसयता पनि बेला–बेलामा मेटाका सेवामा प्राविधिक समस्या देखिँदै आएका छन्।








Add Comment