जानकारी

श्रावण ४ गते पशुपतिनाथ क्षेत्रमा विशेष ट्राफिक व्यवस्थापन, यी स्थानमा पार्किङ गर्न आग्रह

काठमाडौं, साउन ३ — श्रावण महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको अत्यधिक भीड हुने अपेक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक व्यवस्थापन गर्ने जनाएको छ।

ट्राफिक प्रहरीले भक्तजनलाई सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गरी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ। कार्यालयका अनुसार सिफलचौर, भण्डारखाल चौर, तिलगंगा, दिव्य पार्टी प्यालेसको पूर्वतर्फ तथा पिङ्गलास्थान क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ।

भीडभाडका कारण पशुपति क्षेत्र वरपरको सडकमा सवारी चाप बढ्न सक्ने भएकाले ट्राफिक नियम पालना गर्न, ट्राफिक प्रहरीको निर्देशनअनुसार सवारी सञ्चालन गर्न तथा सम्भव भएसम्म सार्वजनिक यातायात प्रयोग गर्न पनि आग्रह गरिएको छ।