समाचार

घरायसी विवादमा बाबुको चक्कु प्रहारबाट घाइते छोराको मृत्यु

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनिहवामा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय २१ वर्षीय सरोज चौधरी रहेका छन्। चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा क्रिमसन अस्पताल, मणिग्राममा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेज पठाइएको थियो। उपचारकै क्रममा बिहीबार साँझ ४:४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्राप्त भएको थियो।

तर घटनास्थल पुगेर गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका बीच सरोजका बुबा अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।