अन्तराष्ट्रिय

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले दिए राजीनामा

ढाका — बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूको पुष्टि उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले शाहाबुद्दिनले राष्ट्रपतिको पदबाट राजीनामा दिएको जनाएको छ।

शाहाबुद्दिन अप्रिल २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा कार्यरत थिए। उनले देशको राजनीतिक रूपमा निकै संवेदनशील अवस्थामा राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए। सन् २०२४ को अगस्टमा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलन उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएकी थिइन्। त्यसपछि अन्तरिम सरकार गठन नहुँदासम्मको संक्रमणकालीन अवधिमा शाहाबुद्दिनले राष्ट्र प्रमुखको भूमिका निर्वाह गरेका थिए।

बंगलादेशको संविधानअनुसार राष्ट्रपति राष्ट्र प्रमुख भए पनि कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित रहने व्यवस्था छ। राष्ट्रपति पदलाई मुख्यतः औपचारिक जिम्मेवारीका रूपमा लिइन्छ।

शाहाबुद्दिन पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिन्थे। स्रोतहरूका अनुसार हसिनाले स्वदेश फर्कने घोषणा गरेपछि सरकारमाथि उनका उच्च तहका बाँकी सहयोगीहरूलाई पनि हटाउन सार्वजनिक दबाब बढेको थियो। सोही दबाबका बीच सरकारकै आग्रहमा शाहाबुद्दिनले पदबाट हट्न सहमति जनाएको समाचार यसअघि सार्वजनिक भएका थिए।