पेरिस/म्याड्रिड — फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आगो तीव्र रूपमा फैलिँदै गएपछि दुवै देशका अधिकारीहरूले उच्च सतर्कता अपनाउँदै उद्धार तथा नियन्त्रण अभियानलाई तीव्र बनाएका छन्।
फ्रान्सको दक्षिणपश्चिमी तटीय क्षेत्र क्याप फेरेट प्रायद्वीप र बोर्डो आसपासका पर्यटकीय क्षेत्रबाट मात्रै करिब ४० हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ। मंगलबारदेखि सुरु भएको डढेलोले जिरोन्दे क्षेत्रमा हालसम्म करिब १० हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरूले बताएका छन्। स्थानीय प्रशासनले यसलाई अत्यन्त विशाल डढेलो को संज्ञा दिएको छ।
अधिकारीहरूका अनुसार आगलागीका कारण हालसम्म ५३ वटा घर र एउटा क्याम्पसाइट पूर्ण रूपमा नष्ट भएका छन् भने करिब २ हजार घर जोगाउन सफल भएको जनाइएको छ। स्थानीय बासिन्दा र पर्यटकमध्ये धेरैलाई डुंगामार्फत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
यस्तै, फ्रान्सकै लान्देस क्षेत्रमा रहेको बिस्कारोस आसपास फैलिएको अर्को डढेलोका कारण थप २३ हजारभन्दा बढी मानिसलाई घर, क्याम्पसाइट, वृद्धाश्रम तथा समर क्याम्पबाट सुरक्षित स्थानमा सारिएको छ। उक्त क्षेत्रमा १०५ वटा घर तथा अन्य संरचना आंशिक वा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
उता, स्पेनको राजधानी म्याड्रिड नजिकका विभिन्न क्षेत्रमा डढेलो नियन्त्रणबाहिर गएपछि सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। म्याड्रिड क्षेत्रकी प्रमुख इसाबेल डियाज आयुसोले यसलाई “क्षेत्रको इतिहासकै सबैभन्दा भीषण डढेलो” भनेकी छन्।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजले अवस्था “अत्यन्त गम्भीर” रहेको भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। म्याड्रिडको पश्चिममा रहेका भिल्ला डेल प्राडो र सान मार्टिन दे भाल्देइग्लेसियास लगायतका क्षेत्रमा डढेलो तीव्र रूपमा फैलिएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि देशमा डढेलोको अवस्था अत्यन्त तनावपूर्ण रहेको बताएका छन्। आगो नियन्त्रणका लागि युरोपेली संघ (EU) ले फ्रान्समा तीनवटा विमान र दुईवटा हेलिकप्टर तथा स्पेनमा चारवटा विमान परिचालन गरेको छ।
अधिकारीहरूका अनुसार हालसम्म नयाँ मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। तर मंगलबार बोर्डो विमानस्थल नजिक डढेलो नियन्त्रणका क्रममा दुई अग्निनियन्त्रकको ज्यान गएको पुष्टि गरिएको छ। दुवै देशमा उच्च तापक्रम, सुख्खा मौसम र तीव्र हावाका कारण डढेलो नियन्त्रणमा चुनौती थपिएको अधिकारीहरूले बताएका छन्।








Add Comment