मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान पहिरोसँगै ढुंगा खस्दा एक घर पुरिएको छ। घटनामा एक ३ वर्षीय बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार छायाँनाथ रारा नगरपालिका–१३ तिर्पका ३२ वर्षीय जगन्नाथ बडुवाल, उनकी २७ वर्षीया पत्नी सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल पुलु बजारमा रहेको घरमा सुतिरहेका बेला माथिबाट आएको पहिरोसँगै ढुंगा घरमाथि खसेको थियो।
घटनापछि प्रहरी चौकी डोल्फु पुलुको टोलीले उद्धार गरी घाइतेहरूलाई पुलु स्वास्थ्य चौकी पुर्याएको थियो। उपचारका क्रममा ३ वर्षीय रमेश बडुवाललाई बिहान ५ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा घाइते भएका जगन्नाथ र सृजनाको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। साथै, थप जोखिमको सम्भावना रहेकाले आसपासका आठ वटा घर उच्च जोखिममा परेका छन्। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।








Add Comment